इटहरी : 'घुमौँ पूर्व' भन्ने अभियान साथ इटहरी रङ्गशालामा यहीँ फाल्गुन २९ गते एक दिने फुड एण्ड बेभरेज मेला हुन भएको छ । जिल्ला होटेल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरी तथा प्रिमियर कलेज इटहरीको व्यवस्थापनमा मेला हुने भएको छ ।

'पर्यटन सम्मृद्धिको आधार, पर्यटन प्रवर्द्धनमा हाम्रो प्रयास' भन्ने मूल नाराका साथ १ दिने फुड एण्ड बेभरेज मेला लाग्ने भएको हो । प्रदेश १ का पर्यटन, संस्कृति तथा वातावरण मन्त्री माननीय जगदीश कुसियतको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा पर्यटन तथा विभिन्न देशका खानालाई प्रवर्धन गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ ।

बुधवार इटहरीमा पत्रकार सम्मेलन गर्दै आयोजकले नेपाली खानाको परिकारलाई विशेष प्रवर्द्धन गर्ने उद्देश्यले बिबिसीबाट मास्टर सेफ प्रोफेसनल युकेका उप-विजेता सन्तोष साहको सहभागिताका कार्यक्रम गरिने जानकारी गराएको छ ।

चर्चित गायक सुगम पोखरेलका साथै नेपाली आइडल सिजन-३ का रनर अप किरण भुजेल लगायत एलिना चौहान, समीक्षा अधिकारी, ममता गुरुङ, गंगा गौतमको समेत प्रस्तुतिहरू रहने बताइएको छ  साथै कमेडी च्याम्पियनका उपविजेता सुमन कोइराला (दले दाइ) को हास्य प्रदर्शनी समेत रहने प्रीमियर होटेल स्कुलका सञ्चालक सुनिल भुसालले बताए ।

फुड एण्ड बेभरेज मेलाबाट नेपाली खानाका परिकारलाई विशेष प्राथमिकता दिइने उनको भनाइ छ । त्यसका साथै इन्डियन, इटालियन, स्विस, मेक्सिकन र चाइनिज खानाहरू समेत सोही राष्ट्रका भेषभूषा र पहिचान सहित प्रवर्धन गरिने उनको दाबी छ ।