धरान :  मोरङको उर्लाबारी नगरपालिका-५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा मुख्य अभियुक्त मानिएका राजेश रणपहेलीलाई पनि पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ ।

मोरङ जिल्ला अदालतका न्यायाधीश मनोज केसीको इजलासले झापाको दमक घर भई उर्लाबारी-६ बस्ने ३२ वर्षीय रणपहेलीलाई थुनामा राख्न मंगलबार आदेश दिएको अदालतका सूचना अधिकारी राजेन्द्र धमलाले जानकारी दिए ।

भागेर रुपन्देहीको बुटवल उपमहानगरपालिका-२ फूलबारी चोकमा पुगेका अभियुक्त रणपहेलीलाई गत बिहीबार पक्राउ गरेर मोरङ ल्याउँदै प्रहरीले सरकारी वकिल कार्यालयमार्फत आइतबार अदालतमा पेस गरेको थियो।

सूचना अधिकारी धमलाका अनुसार रणपहेली विरुद्ध दर्ता भएको कर्तव्य ज्यान मुद्दामा कानुन व्यवसायीको थुनछेक बहस सकिएपछि थुनामा राख्न अदालतले आदेश दिएको हो।

आफ्ना साथीहरू भाडामा बस्ने गरेको उर्लाबारी-६ स्थित रमेश गिरीको घरमा सुत्न गएका बास्तोलाको शङ्कास्पद मृत्यु भएको अवस्थामा गत पुस ५ गते शव भेटिएको थियो।

परिवारका सदस्य र आफन्तले शव गोदावरी अस्पतालमा पाएका थिए । सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएकाले उपचारका लागि पुर्याएपछी बास्तोलाको मृत्यु भएको दाबी घटनाका आरोपीहरूले गर्दै आएका थिए । तर हत्या भएको दाबीसहित छ जनाविरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो ।

मोरङका एसपी सन्तोष खड्का अनुसार मुद्दामा रणपहेली सहित झापाको गौरादह नगरपालिका-९ का ३१ वर्षीय दिपेश पौडेल, मोरङको रतुवामाई नगरपालिका-१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जी, कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी-६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार, उर्लाबारी-९ का ३४ वर्षीय कुमार राई र उर्लाबारी-६ का ६० वर्षीय रमेश गिरीलाई प्रतिवादी बनाइएको छ ।