धरान : गोधुली क्लबको आयोजनामा धरानमा भइरहेको २१ औँ गोधुली टुबोर्ग फुटबल रनिङ कप अन्तर्गत आज भएको खेलमा वडा नं. १३ र १९ विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा वडा नं. १३ ले वडा नं. ५ लाई २-१ गोल अन्तरले पराजित गर्‍यो । १३ नं. वडाका लागी मन्दिप राई र अशोक कटवालले गोल गरे ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा १३ नं. वडा विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच वडा नं. १३ का सुशान्त राई घोषित भए ।

त्यस्तै आज भएको दोस्रो खेलमा वडा नं. १९ ले वडा नं. १२ लाई १-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ । निर्धारित ८० मिनेटको खेल गोल रहित बराबरीमा सकिएपछि खेलमा १५ मिनेटको समय थप गरिएको थियो ।

थप गरिएको समयमा १९ नं. वडाका अतीत लिम्बूले गोल गरी टिमलाई विजयी गराएका थिए । खेलको म्यान अफ द म्याच १९ नं. वडाका एन्सन राई घोषित भए । उनलाई नगद १५ सय पुरस्कार प्रदान गरिएको थियो ।

भोलि पहिलो खेलमा वडा नं. ९ र १५ खेल्ने छन् भने दोस्रो खेलमा वडा नं. १८ र २० खेल्ने छन् । चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेता लाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।