झापा : आइतबारदेखि देशभर सुरु भएको दोस्रो चरणको खोप अभियान कार्यक्रममा ६५ वर्ष कटेका ज्येष्ठ नागरिकहरूको सहभागिता उल्लेखनीय देखिएको छ । देशभरका ६ हजार खोप केन्द्रबाट एकै पटक सुरु भएको अभियानमा सहभागी ज्येष्ठ नागकिहरुले खोप लगाउन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

नेपालका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप दिइने अभियानको सुरुआत आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीबाट गरियो । खोपको दोस्रो चरणअन्तर्गत मुलुकमा आइतबारबाट ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप धमाधम लगाईदैछ । यस चरणमा ज्येष्ठ नागरिक बाहेक सवारी चालक, सहचालक तथा शिक्षकहरूलाई पनि कोरोनाविरुद्धको खोप दिईदैछ । साथै १५ वटा हिमाली जिल्लाका ५५ वर्ष माथिकालाई पनि खोप दिइदैछ । यो अभियानमा ६५ वर्षमाथिका १६ लाख नागरिकलाई खोप लगाउने सरकारको उद्देश्य छ ।

खोप केन्द्रमा पुगी खोप लगाउन आटेको अवस्थामा भेटिएका झापाका एक जना ज्येष्ठ नागरिक झरेन्द्र बरालले यो खोप यति छिट्टै लगाउन पाइन्छ भन्ने आशा आफूले नगरेको भए पनि खोप लगाउन पाउँदा खुसी भएको प्रतिक्रिया दिए । खोप लगाउन लाग्दा आफूमा थप उत्साह बढेको उनले सुनाए ।

बराल जस्तै झापाकै अर्का ज्येष्ठ नागरिक गणेश प्रसाद अधिकारी पनि कोरोना बिरुद्धको खोप लगाउन पाएकोमा उत्साहित देखिए । उनले अब डर र त्रासबाट केही भए पनि मुक्ति मिल्ला कि भन्ने अपेक्षा रहेको बताए । उनी भन्छन्, 'जतिञ्जेल बाचिन्छ त्यतिन्जेललाई एउटा ढुक्क चाहिँ भएको छ ।'

यति छिट्टै खोप आउँला भन्ने लागेको थिएन झापा बाह्रदशीका ओमनाथ गुरागाईलाई पनि । तर, सरकारले देखाएको तदारुकतालाई धन्यवाद भन्दै उनी भन्छन्, “खोप लगाउँदा केही होला कि भन्ने डर त्रास त्याग्नुस् र खोप लगाउन आउनुस् ।” उनले आफूले खोप लगाए पनि आफूमा कुनै साइड ईफेक्ट नदेखिएको सुनाए ।

झापाका यी त केबल केही प्रतिनिधिमूलक ज्येष्ठ नागरिकहरूको अनुभव हो । प्राय जसो खोप केन्द्रहरूमा पुगेका ज्येष्ठ नागरिकहरूमा कोरोना बिरुद्धको खोप लगाउन पाउँदा बेग्लै उत्साह थपिएको पाइन्छ ।
खोप जीवन रक्षाको लागि लगाउने हो न कि समस्या उत्पन्न गर्नका लागि । यदि कोरोना महामारीको अर्को लहर सुरु भयो वा हामीकहाँ सुषुप्त अवस्थामा रहेको कोरोना सङ्क्रमण सर्याे भने जीवनको जोखिम हुने ज्येष्ठ नागरिक र दीर्घ बिरामीलाई हो ।

तसर्थ खोपको अत्यावश्यक समूह यही नै हो । विश्वका अधिकांश देशमा ज्येष्ठ नागरिकले पहिलो प्राथमिकतामा खोप लगाएका छन् । डर त्रास हटाएर लक्षित बर्गलाई खोप अभियानमा सहभागी हुन सरकारले आग्रह पनि गरिरहेकै छ । त्यसैले पनि यो खोप अभियानमा सहभागी हुन लक्षित वर्ग जागरूक हुन जरुरी छ ।

झापामा यस्तो छ खोप तालिका

झापामा पनि ६५ वर्ष उमेर समूहदेखि माथिका ज्येष्ठ नागरिकलाई फागुन २३ गतेदेखि कोभिड-१९ विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको छ ।

झापाका ६५ वर्ष उमेर समूहदेखि माथिका ५८ हजार ५ सय १३ जनालाई कोभिड -१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए ।

२३ गतेदेखि २७ गतेसम्म पहिलो समूहमा झापाको बुद्धशान्ति, भद्रपुर, मेचीनगर, अर्जुनधारा, बिर्तामोड, बाह्रदशी, हाल्दिबारी र कचनकवलका विभिन्न खोप केन्द्रमार्फत ३४ हजार ४ सय ५६ जनालाई कोभिड –१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको उनले बताए । यसै अनुरूप खोप नियमित रूपमा चल्दै आएको समेत उनले बताए ।

त्यस्तै आगामी चैत १ देखि ५ गतेसम्म झापा, कनकाई, गौरीगञ्ज, गौरादह, दमक, कमल र शिवसताक्षीका खोप केन्द्रहरूबाट २४ हजार ५७ जनालाई कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम रहेको चम्लागाईको भनाई छ ।