धरान : झापा र सुनसरीमा भएको दुई छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ ।

दमक नगरपालिका-१ श्रेष्ठ चौकमा मे १ त ६०३२ नम्बरको ट्याक्टरबाट लडेर सह-चालक इलामका २१ वर्षीय वसन्त राईको मृत्यु भएको छ ।

बुधवार दिउसो साढे १ बजे ट्याक्टरबाट लडेर घाइते भएका राईको उपचारको लागी लाइफ लाइन अस्पताल दमक पुर्‍याउन साथ मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । ट्याक्टर र चालक झापा दमक-३ का कैलाश तामाङ प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यसै गरी सुनसरीको इनरुवा नगरपालिका-८ डुम्राहा बस्ने ६० बर्षीया खट्रो उरावको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ ।

बुधवार बेलुका साढे ५ बजे भोक्राहानरसिङ-४ स्थित पूर्व-पश्चिम राजमार्गमा स ४ प ५७१३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उरावको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा साँझ साढे ६ बजे मृत्यु भएको छ ।

सो दुर्घटनामा मोटरसाइकल चालक सप्तरी कोईलाडी-६ बस्ने ५० वर्षीय शिव नारायण मण्डल समेत घाइते भई गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।