धरान : पूर्वकै ठुलो रेफरल अस्पताल भनिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी वार्डमा बिरामी राख्ने ठाउँको अभाव सँगै असक्त बिरामी अस्पताल ल्याउँदा बिरामी बोक्ने ट्रली र व्हील चियर समेत उपलब्ध छैन ।

Emarjency-3

गर्मी सुरु भएसँगै बिरामीको चाप बढेपछि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको इमरजेन्सी वार्ड अत्यन्तै लथालिङ्ग र अव्यवस्थित भएको छ । बाहिरबाट इमरजेन्सी वार्डमा उपचारका लागि आउने बिरामीले ट्रली र व्हील चियर समेत नपाउँदा बिरामीका आफन्तले बोकेर उपचारका लागि भित्र लानुपर्ने अवस्था छ ।

Emarjency-1

भित्र लगेर पनि बिरामी राख्ने सामान्य बेड समेत नपाए पछि बिरामी चिसो सिमेन्टमै आफूले ल्याएको सामान्य ओडने ओक्ष्याउने ओक्ष्याएर भुइमै बस्न बाध्य छन् ।

एउटा स्वास्थ्य संस्थामा सामान्य उपचारको लागि अपनाइनुपर्ने मापदण्ड समेत अपनाइएको अवस्था पाइँदैन । इमरजेन्सीमा आएको बिरामीलाई चिकित्सकले उपचारका लागि परीक्षण गर्दा पनि भईमै बसेर गर्नुपर्ने बाध्यता आएको इमरजेन्सी वार्डमा कार्यरत एक चिकित्सकले बताए । इमरजेन्सीमा आएका बिरामीहरूलाई एक्स-रे गर्न लानु पर्‍यो भने अस्पतालमा ट्रली नपाए पछि बोकेर लानुपर्ने अवस्था रहेको छ ।

Emarjency-5


बीपीमा यस भन्दा अघि पटक पटक इमरजेन्सी वार्डमा कम बेड सङ्ख्या भएको भन्दै बेड सङ्ख्या बढाउने भनिए पनि अझै यो कार्यान्वयनमा नआउँदा इमरजेन्सी वार्डमा समस्या देखिएको इमरजेन्सी विभागका इन्चार्ज डा. ज्ञानेन्द्र मल्लले बताए ।

बिरामीको चाप इमरजेन्सीमा बढी हुने भएकोले अहिले भुईँमा रहेको बेड सहित गरेर ७०/८० वटा बेडले थेग्न नसकेको डा. मल्लले बताए । बेड सङ्ख्या थपेर विस्तार गरेको इमरजेन्सी वार्डमा बिरामी राख्न नसक्दा इमरजेन्सीमा भिड बढनुको साथै समस्या देखिएको हो ।

Emarjency-2

उनले भने, इमरजेन्सीको समस्या प्रतिष्ठानको प्रशासनिक निकायले गम्भीर नलिँदा इमरजेन्सीमा समस्या देखिएको हो । इमरजेन्सी वार्डमा पछिल्लो समय नयाँ ठाउँमा २२ बेड विस्तार गरिएको छ । तर त्यहाँ उपकरणहरू जडान नभएकोले सञ्चालनमा ल्याउन नसकिएको प्रतिष्ठानले जनाएको छ ।

बेड विस्तार गरिएको ठाउँमा चाडै उपकरण जोडेर सञ्चालनमा ल्याउने बीपी कोइराला स्वास्थ्य विज्ञानका सह प्रवक्ता डा. चूडामणि पोखरेलले बताए । उनलाई इमरजेन्सी वार्डको अवस्थाको बारेमा सोध्दा इमरजेन्सीमा त्यस्तो छ र ? भनेर प्रति प्रश्न गरे ।

प्रतिष्ठानको सम्बन्धित निकाय प्रतिष्ठानको समस्या बारे बेखवर भएको यहीबाट प्रस्ट हुन्छ । इमरजेन्सीको पछिल्लो अवस्थाको बारेमा सबै जानकारी गराएपछि मात्र सह प्रवक्ता डा. पोखरेलले भने, इमरजेन्सी वार्डमा बिरामीको चाप बढ्नु र नयाँ विस्तार गरिएको इमरजेन्सी सञ्चालनमा ल्याउन त्यहाँ जडान गर्नुपर्ने उपकरण नआइसकेकोले ढिलो भएको बताए ।

इमरजेन्सी वार्डमा देखिएको समस्यालाई तुरुन्त समाधान गर्न प्रतिष्ठानको ध्यान जानुपर्ने देखिन्छ । प्रतिष्ठानका पदाधिकारीले बोल्ने मात्रै र प्रतिष्ठानको समस्यामा आफ्नो ध्यान केन्द्रित गर्न नसक्दा यस्तो समस्या देखिँदै आएको छ ।

Emarjency-6