धरान : धरानमा जारी २१ औँ गोधुली टुबोर्ग फुटबल रनिङ कप अन्तर्गत आज भएको खेलमा वडा नं. १५ र १८ विजयी भएका छन् ।

आज भएको पहिलो खेलमा वडा नं. १५ ले वडा नं. ५ लाई ४-० को फराकिलो गोल अन्तरले पराजित गर्‍यो । १५ नं. वडाका लागी मदन लिम्बू र वसन्त क्षेत्रीले समान २-२ गोल गरे । १५ नं. वडा विजयी हुँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ । खेलको म्यान अफ द म्याच वडा नं। १५ का मदन लिम्बू घोषित भए ।

त्यस्तै आज भएको दोस्रो खेलमा वडा नं. १८ ले वडा नं. २० लाई ३-० गोल अन्तरले पराजित गर्दै क्वार्टर फाइनलमा प्रवेश गरेको छ । वडा नं. १८ का लागी सुशील यादव, निकेश राई र रोशन उरावले गोल गरे ।

खेलको म्यान अफ द म्याच १८ नं. वडाका पूजन लिम्बू घोषित भए । उनलाई माउन्ट एभरेस्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद १५ सय पुरस्कार प्रदान गरे । भोलिको पहिलो खेलमा वडा नं. १ र १७ खेल्नेछन् भने दोस्रो खेलमा वडा नं. १४ र ११ खेल्नेछन् ।

चैत्र ७ गतेसम्म चल्ने प्रतियोगितामा धरान उपमहानगरपालिकाका १९ वटा वडा सहभागी छन् । प्रतियोगिताको विजेतालाई १ लाख र उपविजेतालाई ५० हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।