धरान : संयुक्त बजार अनुगमन टोलीले  पसल अनुगमन गर्दा चार वटै पसलमा भारतीय सामान बिक्री गरेको तर, खरिद बिल देखाउन नसके पछि अनुगमनका क्रममा ४ वटा पसललाई ७० हजार जरिवाना तिराएको छ ।

बिहीबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगर, धरान उपमहानगरपालिकाको बजार अनुगमन टोली र प्रहरी प्रशासनको संयुक्त टोलीले बजार अनुगमन धरानको माछाभौडिमा सिटी शाक्यले सञ्चालन गरेको सिटी स्टोरलाई २० हजार, माछाभौडीमै लक्ष्मण अग्रवालले सञ्चालन गरेको सुमित्रा स्टोरलाई २० हजार आर्चाय लाइनमा विनोद शाक्यले सञ्चालन गरेको रोश्नी किराना पसललाई २० हजार र चतरा लाइन स्थितको एच के किराना पसललाई १० हजार जरिवाना गरिएको उपभोक्ता संरक्षण कार्यालय विराटनगरले जनाएको छ ।

उनीहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरिएकोले सोही ऐनको दफा ३९ बमोजिमको जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए ।

उक्त दोकानहरूमा भन्सार छली गरी ल्याएका बिस्कुट, लेज, कुरकुरे भुजिया, पापड, भारतीय चामलका बिल व्यापारीले देखाउन नसके पछि र प्याक गरिएका काजु र ओखरमा उत्पादन मिति र उपभोग गर्ने मिति उल्लेख नभएपछि उनीहरूलाई सामान हेरेर जरिवाना गरेको पोखरेलको भनाई छ ।

उक्त चार पसलमा भारतबाट लुकाइ छिपाई ल्याएका खाद्यान्न सामान मूल्य सूची नराखेको खुल्ला प्याकेटमा बिक्री गरेको भेटेपछि र खरिद बिल उपलब्ध गराउन नसके पछि उनीहरूलाई कारबाही गरिएको पोखरेलले बताए ।

उनीहरूले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को दफा ग मा बिजक देखाउन नसकेको अवस्थामा ५ हजार देखी २० हजार जरिवाना लिन सक्ने कार्यालयले जनाएको छ ।

उनीहरूले व्यापारीहरूलाई खाद्य वस्तुहरूको कालोबजारी तथा मूल्य वृद्धि नगरी बिक्री वितरण गर्न निर्देशन दिँदै पुन: भारतीय बजारका समान बिक्री गरेको भेटिएमा जरिवाना वृद्धि गरिने तथा पसल सिल गर्ने चेतावनी समेत दिएका छन् ।

व्यापारीलाई उक्त टोलीले भारतीय सामान साइकलवाला सँग नलिन र खरिद बिल बिनाका सामान बिक्री नगर्न सचेत पार्दै अन्य लेबलिङका लागि सल्लाह सुझाव समेत दिएका थिए ।

कारर्बाहीमा परेका पसलहरूले तोकिएको जरिवाना कृषि विकास बैङ्कमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको खातामा एक हप्ता भित्र बुझाउनु पर्नेछ ।