धरान : तेस्रो सियोन फुटसल प्रतियोगिता धरान १० स्थित धरान फुटसलमा आज देखि सुरु भएको छ ।

सियोन चर्च र सियोन स्कुलले आयोजना गरेको फुटसल प्रतियोगितामा २० वटा टिम सहभागी भएका छन् । उद्घाटन समारोहका प्रमुख अतिथि रहेका धरानका मेयर तिलक राईले धरान खेलकुदको सहर रहेको बताउँदै विगत केही वर्षदेखि धरानमा ईन्डोर फुटसल प्रतियोगिता आयोजना हुँदै आएको बताए ।

मेयर राईले भने, ‘फुटसलको गतिविधिले गर्दा धरान क्षेत्रलाई फेरि पनि यो धरान खेलकुदको नगरी हो, खेलकुदको राजधानी हो र धरानमा बहुसङ्ख्यक खेलाडीहरू छन् ।’ धरानका सिङ्गो नगरवासीहरू, सम्पूर्ण जातजाति वर्ग समुदाय र धार्मिक सङ्घसंस्थाहरू पनि खेलमय रहेको धारणा व्यक्त गरे ।

धरानवासी खेल र खेलकुदसँग सम्बन्धित छन् । ‘खेलाडीहरू पनि आफै खेलसँग सम्बन्धित भएर पुग्दैन, त्यो खेलाडीहरूको अभिभावक, विभिन्न सङ्घसंस्थाहरू र धार्मिक सङ्घसंस्थाहरू, यहाँको सम्पूर्ण मन अन्तरात्मा चाहिँ खेल भावनासँग सम्बन्धित रहेको मैले महसुस गरेको छु’ मेयर राईले भने । मेयर राईले सियोन चर्च, सियोन स्कुल र आयोजक टिमलाई धन्यवाद दिँदै प्रशंसा समेत गरे ।

आजबाट सुरु भएको प्रतियोगिता शनिवार समापन हुनेछ । प्रतियोगितामा प्रथम हुनेले नगद २० हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछ भने दोस्रो हुनेले नगद १२ हजार रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् ।

साथै म्यान अफ दी म्याच, उत्कृष्ट खेलाडीलाई पनि आकर्षक पुरस्कार दिइने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन समारोहमा नृत्य समेत प्रस्तुत गरिएको थियो ।