चतरा : शुक्रवार आयोजना भएको वराहक्षेत्र नगरपालिकाको सातौँ नगर सभा नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बहिस्कार गरेका छन् । नेपाली काँग्रेस नगर कार्य समिति वराहक्षेत्रको निर्देशन अनुसार बिहान सम्पन्न नगर कार्यपालिका बैठक समेत बहिस्कार गरेका थिए ।

३ वडाध्यक्ष सहित १२ जना जनप्रतिनिधिहरुले आज सुरु भएको नगरसभा लिखित असन्तुष्ट पत्र बुझाउँदै बहिस्कार गरेका थिए ।

साढे ३ वर्षको नगरपालिका सञ्चालनमा मेयर निलम खनालले एकलौटी निर्णय गर्दै काम गरेको, ठेक्का पट्टा, टेन्डरमा सेटिङ्ग गरि कार्यकर्ता रिझाउने गरेको, विकास निर्माणमा एकलौटी गरी राजनैतिक आग्रह पुर्वाग्रह राखेको र मिलेमतो गरी आर्थिक अपचलन गरेको भन्दै चार बुँदे असन्तुष्ट पत्र मेयर खनाललाई बुझाएका थिए।

baraha-nagar-bahiskar

काँग्रेसका जनप्रतिनिधिहरुले नगर सभाको निमन्त्रणा पाएका नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि तथा वडा नं १ वडाध्यक्ष सुरेश श्रेष्ठलाई बिना कारण प्रहरीले धरपकड गरी नियन्त्रणमा राख्दा पनि नगरपालिकाले एउटा बिज्ञप्ती समेत ननिकालेको हुँदा वडाध्यक्ष नै असुरक्षित रहेकाले सामान्य जनताको नगरपालिकाले सुरक्षा गर्न नसकेको हाम्रो ठहर सहित, नगरपालिकाको नगर सभाबाट पारित गरेको पानीबोटले वराहक्षेत्र नगरपालिकाको राजश्व शाखामा प्रति बोट भुक्तानी गर्ने ३ लाख पानीबोट सञ्चालकले नतिरेको र सो राजश्व उठाउन पटक-पटक नगर सभामा कुरा उठाउँदा समेत बेवास्ता गरी सो राजश्व नउठाएको, पानीबोट सञ्चालकले मनोमानी भाडा दर असुल्ने गर्ने गरेको प्रति बेवास्ता गरेको र किरात धर्मालम्बीहरुले आस्थाको केन्द्रको रूपमा रहेको खुवालुङ ढुङ्गा फुटाउन नेपाल सरकारले बजेट छुटाई जातीय हिंसा फैलाउन खोज्दा पनि नगरपालिका मौन रहेको विषयमा असन्तुष्ट जनाएका थिए ।

नगरसभा सुरु हुन साथ नगर सभाध्यक्ष मेयर निलम खनालसँग बोल्न समय लिँदै वराहक्षेत्र नगरसभाका प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईले २ पन्ना लामो असन्तुष्ट पत्र वाचन गरेका थिए ।