धरान : धरानमा जारी २१ औँ संस्करणको गोधुली टुबोर्ग गोल्डकप प्रतियोगिताको क्वाटर फाइनल समीकरण पुरा भएको छ ।

शुक्रवार भएको पहिलो चरणको अन्तिम खेलसँगै क्वाटर फाइनल समीकरण पुरा भएको हो । शुक्रवार खेलमा धरान-१७ र धरान-१४ क्वाटरफाइनल प्रवेश गरेका छन् । यस अघि वडा नं. १५, १६, १३, ८, १९ र १८ नं। वडा क्वाटर फाइनलमा पुगिसकेका छन् ।

धरान रङ्गशालामा सम्पन्न खेलमा धरान १७ ले धरान १ लाई २-० गोल अन्तरले हराउँदै क्वाटरफाइनल प्रवेश गरेको छ भने धरान १४ ले धरान ११ लाई टाइब्रेकरमा ४-३ गोल अन्तरले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

आज भएको पहिलो खेलमा धरान १७ का तपन कार्की र मनोज राईले गोल गदै टिमलाई क्वाटरफाइनलको यात्रा तय गराए । यता, धरान १ ले गोल गर्ने मौका सदुपयोग गर्न नसक्दा गोलविहीन अवस्थामा प्रतियोगिताबाट बाहिरिनु पर्‍यो । यस्तै, आजै भएको दोस्रो खेलमा धरान १४ र ११ ले निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको छिनोफानो टाइब्रकरबाट भएको थियो ।

टाइब्रेकरमा धरान १४ को तर्फबाट विवेक राई, सन्दीप राई सनिर तामाङ र मीन श्रेष्ठले गोल गरेका थिए भने वर्षात तामाङले गोल गर्न चुके । यता, धरान ११ को तर्फबाट वर्तमान राई, रिवश मास्के र सचिन श्रेष्ठले गोल गरेपनि धिरेन लिम्बु र सुदिप गुरुङले गोल गर्न चुक्दा प्रतियोगिताको पहिलो चरणबाट टिमले बिदा लिनु पर्‍यो ।

खेलको म्यान अफ दि म्याच धरान १७ का सुशान्त विक र धरान १४ का गोल किप्पर राजीव खड्का घोषित हुँदै नगद १५ सय रुपैयाँ प्राप्त गरे ।

भोलिको पहिलो क्वाटरफाइनल खेल धरान १५ र १६ बिच हुने आयोजकले जनाएको छ ।

त्यस्तै गरी १ गते वडा नं. ८ र १९ बिच, २ गते १७ र १३ बिच र अन्तिम क्वाटरफाइनल खेल ३ गते १८ र १४ नं. वडाबिच हुने आयोजकले जनाएको छ ।