इटहरी : 'वि वान्ट जस्टीस, मनोमानी शुल्क फिर्ता गर' भन्दै बिश्वआदर्श कलेजका विद्यार्थी सडकमा आन्दोलनमा उत्रिए । शिक्षकले असभ्य बोलेको र कलेजले मनोमानी शुल्क लिएको भन्दै उनीहरू इटहरी उपमहानगरपालिका कार्यालय पुगे ।

जनप्रतिनिधिलाई भेटेर आफ्नो समस्या सुनाउन खोज्दै गर्दा उपमेयर लक्ष्मी गौतमलाई आफ्नो समस्या सुनाए । विद्यार्थीको कुरा सुनिसकेपछि उपमेयर गौतमले आइतबार कलेज प्रशासन र विद्यार्थी सँग छलफल गर्ने वचन दिइन ।

कलेजले लकडाउनको समयको समेत शुल्क लिएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । एउटै विषय पढ्ने विद्यार्थीलाई थोरै र धेरै शुल्क लिएर विभेद गरेको भन्दै आन्दोलनमा उत्रिनु परेको विद्यार्थी निमा तामाङले बताए । आफूहरू ५ महिना कलेज जाने तर कलेजले १२ महिनाको शुल्क तिर्न बाध्य परेको उनको भनाइ छ ।

कलेजमा कुरा उठाउँदा शिक्षकले धम्की दिने गरेको विद्यार्थीहरू सुनाउँछन् । बारम्बार भन्दा समेत बेवास्ता गरेको भन्दै सडकमा आउनु परेको उनीहरूको तर्क छ ।

आफ्ना कुराहरू उठाउँदा विषयान्तर गरेर 'केटीहरूलाई दिउसै रक्सी खाएको भन्दै गाली गर्ने हो ? शिक्षक भएर त्यसरी बोल्न मिल्छ ?, सरोज दाहालले आक्रोशित हुँदै प्रश्न गरे, हामी राणा शासनको पालक हो र ? हामी अन्याय सहनुपर्ने ?

केही दिन अगाडि कस्तुरी कलेजका विद्यार्थी समेत आन्दोलनमा उत्रिएका थिए । कलेज प्रशासनले आइतबार सम्मको समय मागेको भएर आन्दोलन रोकिएको थियो ।

बिश्वआदर्श कलेजका प्रिन्सिपल गणेश दुलालले विद्यार्थीका माग छलफल गरेर सुनुवाइ गरिने बताए । कलेजले पनि शिक्षकलाई तलब दिने देखि अन्य खर्च धान्नुपर्ने भएकोले शुल्क लिन बाध्यता रहेको उनको तर्क छ । सम्पूर्ण कोर्स सिद्ध्याउनको लागि आवश्यक पर्ने शुल्क मात्र कलेजले लिने गरेको उनको भनाइ छ ।