धरान : धरानको २० नं. वडाबाट न्यायमा पहुँच सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण कार्यक्रम सुरु भएको छ ।

धरान उपमहानगरपालिकाको न्यायिक समितिले हिजो २० नं. वडाको भालुढुंगा माविबाट कार्यक्रमको उद्घाटन गरेको हो । धरान उपमहानगरका मेयर तिलक राई, न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर मञ्जु भण्डारी, वडाध्यक्ष मणिराम राई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र न्यायिक समितिका सदस्यहरूको उपस्थितिमा संयुक्त रूपमा कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रममा भालुढुंगा माविका कक्षा ९ देखि १२ सम्मका ६५ जना विद्यार्थीहरू सहभागी भएका थिए । धरान उपमहानगर भरिका २० वटै वडाका सामुदायिक विद्यालयमा कानुन सम्बन्धी प्रशिक्षण कार्यक्रम गरिने छ ।

न्यायमा पहुँच सम्बन्धी विद्यालय स्तरीय अभिमुखीकरण भालुढुंगा मावि बाट सुरु गरिएको न्यायिक समितिले जनाएको छ । विद्यार्थीहरूलाई धरान उपमहानगरका कानुन व्यवसायी तथा कानुनी सल्लाहकार वीरेन्द्र बस्नेत, जेके राई साम्पाङ र अबइन्द्र निरौलाले सहजीकरण गरेका थिए । प्रशिक्षार्थी विद्यार्थीहरूलाई न्यायमा पहुँच भन्ने शीर्षकबाट प्रशिक्षण दिइएको थियो ।

स्थानीय सरकारमा यो अधिकार आइसके पश्चातको पहिलो कार्यक्रम हो । सम्पूर्ण नेपाली नागरिकहरु सम्म कानुनको विषयमा कानुन जान्नुपर्छ, बुझ्नुपर्छ भन्ने उद्देश्यले धरान उपमहानगरमा यो कार्यक्रमको सुरुवात गरिएको हो । सोही उद्देश्य अनुसार न्यायिक समितिको नियमित कार्यक्रम हो ।

सामुदायिक विद्यालयहरूमा गर्नुपर्ने कार्यक्रम यो पहिलो कार्यक्रम हो । धरान उपमहानगरभरिका सामुदायिक विद्यालयहरूमा नियमित ढङ्गले अर्थात् दुई चार दिनको अन्तरालमा कार्यक्रम सुचारु गरिने न्यायिक समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर तिलक राईले संविधान २०७२ मा बनेपछि संविधानले थुप्रै अधिकारहरू स्थानीय सरकारलाई दिएको बताए । मेयर राईका अनुसार प्रारम्भिक न्याय निरूपणका कुराहरू, कानुनी कुराहरू स्थानीय तहमै हुन्छ ।

‘वडामा हुन्छ, उपमहानगरपालिकामा हुन्छ,’। कानुनको बारेमा सबैले जान्नुपर्ने बताउँदै मेयर राईले कानुन सबैलाई बराबर लागू हुने बताए । ‘कानुनको उल्लङ्घन गरिसकेपछि कसैलाई पनि छुट हुन्न, त्यसैले यस विषयमा सबैले बुझ्न जरुरी छ,’ मेयर राईले भने ।