विराटनगर : नेपाली काँग्रेस प्रदेश नम्बर १ संसदीय दलले ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारका आगलागी पीडितलाई खाद्यान्न सहितका राहत सामग्री वितरण गरेको छ ।

काँग्रेसका प्रमुख सचेतक केदार कार्कीको नेतृत्वमा आगलागी प्रभावित क्षेत्र पुगेको संसदीय टोलीले पीडित ८० परिवारलाई खाद्यान्न र लत्ताकपडा सहयोग गरेको हो । टोलीमा प्रदेश सांसद प्रतापप्रकाश हाङगाम र चन्द्रप्रसाद श्रेष्ठ पनि थिए ।

प्रमुख सचेतक कार्कीका अनुसार सबै परिवारलाई २० केजीका दरले चामल ८० बोरा, दाल एक क्विन्टल, पाँच बोरा भुजा, नुन तेल, साबुन, चाउचाउ, म्याट्रेक्स, तन्ना, ब्लांकेट एक सय थान, बालबच्चालाई लत्ताकपडा र प्रति परिवारलाई तीन जोरका दरले जुत्ता–चप्पल उपलब्ध गराइएको हो ।

संसदीय दलले शुक्रवार कार्यक्रम स्थलमा उपलब्ध पीडित परिवारलाई वितरण गरी बाँकी परिवारका लागि भने स्थानीयको रोहबरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेशबहादुर लिम्बूलाई वितरण गर्न बाँकी सामग्री हस्तान्तरण गरेको थियो । लिम्बूले गाउँपालिकाको समयन्त्र मार्फत बाँकी परिवारालाई राहत वितरण गरिने प्रतिबद्धतासमेत जनाएका छन् ।

कार्कीले भने,“आगलागीले बजार पूर्ण रूपमा ध्वस्त भएको रहेछ । पीडित परिवारको पुनर्स्थापना निकै कठिन देखिएकोले यसमा प्रदेश १ सरकारले विशेष राहत प्याकेज नै घोषणा गर्नुपर्ने हाम्रो माग छ । संसद् बैठकमा समेत स्थानीयको मागलाई जोडदार ढङ्गले उठाउने छौँ ।”

घटना लगत्तै दोभान बजार पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रति परिवार ५० हजार उपलब्ध गराउने घोषणा गरेको भए पनि त्यो अपुग हुने देखिएको आफूहरूको ठहर भएको कार्कीले सुनाए ।

राहत तथा पुनर्स्थापनाको लागि प्रति परिवार कम्तीमा ३ लाख उपलब्ध गराउन र सरकारकै पहलमा बजार पुर्ननिर्माणदेखि स्थानीयको राहतका लागि सहुलियतपूर्ण ऋण समेत दिन स्थानीयले माग गरेको कार्कीले बताए ।

काँग्रेस संसदीय दलसँगै पुगेको फुड बैङ्क लायन्स क्लब अफ इटहरी सुनसरीले पीडित परिवारलाई चामल उपलब्ध गराएको अध्यक्ष भविन खड्का र चेयर पर्सन निर्मला चौधरीले बताए । एघार दिनअघि ताप्लेजुङको दोस्रो ठुलो बजार दोभानमा भीषण आगलागी भएको थियो ।