धरान : लकडाउनको कारण रोकिएको प्रदेश १ स्तरीय बराह ग्रुप महिला पुरुष बास्केटबल प्रतियोगिता आउँदो चैत्र २ गते देखि हुने भएको छ ।

धरान बास्केटबल सङ्घको आयोजना तथा धरान उपमहानगरपालिका र सुनसरी बास्केटबल सङ्घको सहयोगमा आयोजना हुन लागेको प्रतियोगिताको विषयमा आयोजकले आज वराह किचनमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो ।

गत वर्ष चैत्र ७ देखि १२ गते सम्म प्रतियोगिता आयोजना गर्ने सम्पूर्ण तयारी भइसके पनि अन्तिम चरणमा विश्वलाई नै आतङ्कित बनाएको कोरोना भाइरसको महामारीको कारण लागु गरिएको लकडाउनले गर्दा प्रतियोगिता रोकिएको जिल्ला बास्केटबल सङ्घ, सुनसरीका अध्यक्ष नारायण सुवेदीले जानकारी गराए ।

धरान-१२ स्थित हिमालयन मेघा कलेजको बास्केटबल कोर्टमा आयोजना हुने प्रतियोगितामा पुरुष तर्फ १३ र महिला तर्फ ६ टिमले सहभागिता जनाउने भएका छन् । विजेता टिमले पुरुष तर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

महिला तर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछ । प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद २ हजार, हाइ स्कोररले नगद १ हजार रुपैयाँ र राइजिङ प्लेयरले ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने कार्यक्रमका सभाध्यक्ष धरान बास्केटबल सङ्घका अध्यक्ष एवं बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाले जानकारी दिए ।

व्याचलर लेबलका २३ वर्ष मुनिका खेलाडीहरू सहभागी हुन पाउने प्रतियोगितामा धरान , विराटनगर, बिर्तामोड र इटहरीका कलेजका टिमले सहभागीता जनाएका छन् । सहभागि कलेजहरूमा पुरुष तर्फ डिपोट, महेन्द्र कलेज, धरान मेघा कलेज, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, सियोन, सिटी कलेज, इटहरी, बिर्तामोड, एम्स, सगरमाथा, विकेभिएम विराटनगर धरान आदर्श, र विष्णु मेमोरियल रहेका छन् ।

त्यस्तै गरी महिला टिमहरूमा डिपोट , धरान आदर्श , विष्णु, हात्तीसार, सियोन र विराट नर्सिङ होम रहेका छन् । प्रदेश १ मा कलेज स्तरमा पहिलो पटक हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजकको रूपमा वराह ग्रुप रहेको छ ।

प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटीसन र सम्मान :

पहिलो प्रदेश १ स्तरीय वराह महिला पुरुष बास्केटबल प्रतियोगिताको समापनको दिन फाइनल खेल अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन समेत हुनेछ ।

नेपालको चर्चित गायक तथा पूर्व बास्केटबल खेलाडी समेत रहेको प्रकाश पौडेलको सहयोगमा थ्री पोइन्ट सुट कम्पिटिसन हुन लागेको सुनसरी अध्यक्ष सुवेदीले जानकारी गराए । १ मिनटको समयमा जसले बढी थ्री पोइन्ट एरियाबाट बास्केट गर्छ उही नै विजयी हुनेछ ।

महिला र पुरुषको छुट्टै प्रतिस्पर्धा गराइने कम्पिटिसनमा विजेताले जनही नगद ३ हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्नेछ । यसै गरी समापनको दिन नै बास्केटबल खेल विकासमा अतुलनीय योगदान पुर्‍याउने धरान-१८ रत्न चौक निवासी स्व. कुलबहादुर सेनिहाङ्ग लिम्बुलाई सम्मान समेत गरिने भएको छ ।

सेनिहाङ्गलाई मरणोपरान्त सम्मान गर्न लागिएको हो । धरानको बास्केटबल खेल यहाँ सम्म आइपुग्न वहाले गरेको काम र योगदानको कदर गर्दै सम्मान गर्न लागिएको आयोजक धरान बास्केटबल सङ्घले जनाएको छ ।