धरान : धरानमा मासु बजार डटकम सञ्चालनमा आएको छ ।

स्वदेशमै बसेर केही गर्न सकिन्छ भन्ने उद्देश्यले धरान–१७ स्थित रेल्वेमा एक युवाले मासु बजार डटकम सञ्चालनमा ल्याएको हो ।

मासु बजार डटकमको शुभारम्भ आज धरानका मेयर तिलक राईले गरे । सञ्चालक अरुण राईले मासु बजार डटकम ४ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याएको जानकारी दिए ।

सञ्चालक राईका अनुसार अहिले खसी, कुखुरा र अण्डा पाइन्छ भने फ्री होम डेलिभरीको पनि व्यवस्था छ । सफा र ताजा मासु सुलभ मूल्यमा विक्री गरिने उनले बताए । मासु बजार डटकम सञ्चालनमा आए लगत्तै केही युवाहरूले रोजगार पनि पाएका छन् । आगामी दिनमा राँगा र लोकल कुखुराको मासु पनि थप्ने उनले जानकारी दिए ।

मेयर राईले धरान–१७ दिनदिनै बजारीकरण हुँदै गएको बताउँदै स्थानीयवासी, टोलवासीहरू, वडावासीहरू बजार खोज्नका लागि अन्यत्र जान जरुरी नभएको बताए ।

‘यहाँ हरेक चिजको उपलब्धता छ, सब्जी, हार्डवेयर, किराना समान, फलफूल, मासु, खाद्यान्न, चिया–नास्ता सबै कुरा छ,’ उनले भने । स्वास्थ्यलाई मध्यनजर गर्दै ताजा, सफा र सुरक्षित मासु बिक्री वितरण गर्न मेयर राईले आग्रह गरे ।

बजारको अवस्था, जनताको अवस्थालाई बुझेर व्यापार गर्न खोजिरहेको बताउँदै मेयर राईले सञ्चालक लगायत टिमलाई शुभकामना दिए । साथै उहाँले व्यापार व्यवसाय गर्दा कानुनी प्रक्रिया पुर्‍याएर गर्न पनि आग्रह गरे ।