बराहक्षेत्र : बराहक्षेत्र नगरपालिका वडा नम्बर-५ इन्द्रेणी टोलमा रहेको बराह कृषि फर्ममा आइतबार बिहान करिब ४ बजेतिर आगलागी भएको छ।

आगलागी हुँदा ४ माउ भैँसी र ३ वटा बाख्राका पाठा जलेर मरेका छन् भने ४ वटा माउ भैँसी २ वटा पाडा र १ वटा पाठा घाइते भएको फर्म सञ्चालक हरि बहादुर खत्रीले बताए ।

उक्त फर्म दुई जना ब्यक्तीले सञ्चालन गरेका थिए । सञ्चालक मध्येका एक अमर बहादुर कार्की बिहान दुध दुहुन गोठमा पसेर दूध दुहुन लाग्दा मात्र आगो लागेको थाहा पाएका थिए ।

खत्रीले कार्की लाई बचाउने क्रममा समयमै भैँसी खोल्न नसक्दा ४ वटा भैँसीलाई बचाउन सकेनन् र अन्य भैँसीलाई फुकाए पनि शरीर जलेर पूर्ण घाइते भएका थिए ।

भैँसीको गोठमा टिनको छानो भए पनि भैँसीलाई गर्मी हुने भएकोले उनीहरूले टिन मुनि खर लगाएको र वरिपरि खर र टिनले बारेको हुँदा आपत्कालीन अवस्थामा निकाल्न नसक्दा १० लाख भन्दा बढी क्षति भएको प्रहरीले जनाएको छ।

आगलागीमा नगद ४० हजार, १० बोरा चोकर, खुवाउने दाना , टिभी, फ्रिज , पराल काट्ने मिसिन सहित मोटर, धान , लत्ताकपडा लगायत सामग्री जलेर नष्ट भएको प्रहरी जनाएको छ भने घाइते अमर बहादुर कार्कीको अहिले बि पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हस्पिटलमा उपचार हुदैछ । उनलाई थप उपचारको लागि काठमाडौँ लैजान तयारी भएको हरि खत्रीले बताए

आगो नियन्त्रणमा लिन प्रहरी स्थानीय र बराहक्षेत्र नगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रणमा लिएको थियो ।

आगलागी भएको खबर सुनेपछि बराहक्षेत्र नगरपालिका नगर प्रमुख निलम खनाल,वडा अध्यक्ष ,वडा सदस्य लगायत घटना स्थलमा पुगी घटनाको बारेमा जानकारी लिएका थिए। आगलागी के कारणले भएको अझै खुल्न सकेको छैन।