विराटनगर : भोलि बस्ने भनिएको प्रदेश १ को प्रदेशसभा अनिश्चितकालका लागि स्थगित भएको छ ।

चैत २ गते भोलिका लागि बोलाइएको बैठक प्रदेशसभा सचिवालयले आज सूचना प्रकाशित गरी बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले बताए ।

माघ ७ गतेदेखि सुरु भएको सातौँ तथा हिउँदे अधिवेशनमा मुख्यमन्त्री शेरधन राई विरुद्धको अविश्वास प्रस्ताव बाहेक बिजनेस छैन । मुख्यमन्त्री राई विरुद्ध पुस १२ गते तत्कालीन नेकपाका ३७ सांसदले अविश्वासको प्रस्ताव प्रदेशसभामा पेस गरेका थिए ।

फागुन ९ गते प्रदेशसभामा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव पेस भएपछि फागुन २० गतेको बैठक सूचना टाँसेर चैत २ गते बस्ने गरी स्थगित गरिएको थियो ।

फागुन २३ को सर्वोच्चको फैसलापछि मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्ताव अन्योलमा परेको हो । प्रदेशसभामा पेस भएको अविश्वास प्रस्तावबारे के गर्ने भनेर सभामुख भण्डारीले छलफल थालेका छन् ।

सोमबारको बैठकमा माओवादी केन्द्रले अनुपस्थित हुने सङ्केत गरेको थियो । उसले संसदीय दलको नेता नै एमालेमा प्रवेश गरेको र चैत १ गते काठमाण्डौंमा भेला राखिएकाले बैठकमा उपस्थित नहुने पूर्व आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले सङ्केत गरेका थिए ।

अविश्वास प्रस्ताव माथिको छलफल अघि बढाउन सभामुख भण्डारीलाई कानुनी जटिलता पनि रहेको छ । सर्वोच्चको फैसला पछि मुख्यमन्त्री राई सुरक्षित छन् । प्रदेश १ मा एमाले एक्लैको बहुमत छ ।

Pradesh-Sabha-Sthagit-Sucha