धरान : झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन शिक्षा मन्त्रालयको क्षेत्राधिकार बाहिर गएर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र काठमाडौँ विश्वविद्यालयबिच गरिएको गोप्य सम्झौताको विरोध गर्दै प्रतिष्ठानका चिकित्सकहरू आन्दोलित भएका छन् ।

स्वास्थ्य मन्त्रालयअन्र्तगत रहेको प्रतिष्ठानलाई प्रधानमन्त्री केपी ओलीको निर्देशनमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाडौँ विश्वविद्यालयको सभामा ठाडो प्रस्ताव लागि बिएन्डसीलाई सम्बन्धन दिने निर्णय गरेपछि प्रतिष्ठानका चिकित्सक र कर्मचारी आइतबार देखि आन्दोलित भएका हुन्।

शिक्षामन्त्री श्रेष्ठले गत बुधवार बीपी प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र काठामाडौं विश्वविद्यालयका उपकुलपति डा. भोला थापालाई मन्त्रालयमा बोलाई समझदारी पत्रमा विएण्डसीलाई सम्बन्धन दिन हस्ताक्षर गराएका थिए । उक्त समझदारी पत्र गोप्य राखिएको भन्दै प्रतिष्ठानका चिकित्सकले उपकुलपति गिरीको कार्यशैलीविरुद्ध आन्दोलन सुरु गरेका हुन् ।

बिएण्डसीलाई सम्बन्धन दिने समझदारी पत्रमा तत्काल काठमाडौँ विश्वविद्यालयले सम्बन्धन दिने र त्यसको प्राज्ञिक गतिविधि परीक्षा, निरीक्षण प्रतिवेदन प्रतिष्ठानले तयार गर्ने उल्लेख गरिएको छ ।

प्रतिष्ठानले आफ्नो ऐन संशोधन गरेर सम्बन्धनको बाटो खोलेपछि काठमाडौँ विश्वविद्यालयमा रहेको सम्बन्धनलाई धरानमै सार्ने समेत सहमति पत्रमा उल्लेख गरिए पश्चात् प्रतिष्ठानका चिकित्सकले आपत्ति जनाएका छन् ।

प्रतिष्ठानको मेडिकल तथा डेण्डल फ्याकल्टी कल्याण समाजका अध्यक्ष डा. विष्णु पोखरेलको नेतृत्वमा चिकित्सकहरूले आन्दोलन सुरु गरेका हुन् । आन्दोलनमा उत्रिएका चिकित्सक र कर्मचारीले उपकुलपति गिरीको कार्यकक्ष अगाडि धर्ना दिएर विरोध जनाएका छन् ।

शिक्षा मन्त्रालयमा गरिएको गोप्य सहमति खारेज नगरिए आन्दोलन सशक्त बनाउने चिकित्सकले चेतावनी दिएका छन् । समाजका अध्यक्ष पोखरेलले उपकुलपति गिरी प्रतिष्ठानको उपकुलपति भएर आएपछि प्रतिष्ठानको हितमा भन्दा पनि अहितमा काम गरेका कारण प्रतिष्ठानको अवस्था धराशायी बनाएको आरोप लगाए ।

उनले कुनै पनि मेडिकल कलेजलाई सम्बन्धन दिन प्राज्ञहरूको सुझावका आधारमा दिनुपर्ने भए पनि प्रधानमन्त्रीले आमसभामा बोलेको भाषणका आधारमा शिक्षामन्त्रीले दबाब दिएर बिएन्डसीलाई सम्बन्धन दिन लागिएको प्रक्रिया अत्यन्तै गलत भएको बताए ।

कुनै पनि मेडिकल कलेजलाई अनुमति दिँदा ऐन, नियम र प्राज्ञिक संस्थाको क्षेत्राधिकार भित्र रहे पनि गलत बाटोबाट बिएन्डसीलाई सम्बन्धन दिन लागिएको पाखेरेलले बताए । उनले सरकारले बिएण्डसीलाई सम्बन्धन दिएर बिपी प्रतिष्ठानलाई समेत धराशायी बनाउन खोजेको आरोप लगाए ।

समाजका महासचिव सूर्यप्रसाद रिमालले प्रतिष्ठानका उपकुलपति गिरीले मोरङको सुन्दरहरैचामा भएको प्रतिष्ठानको जग्गा समेत अवैध तरिकाले प्रदेश सरकारलाई दिएको आरोप लगाए ।

उनले प्रतिष्ठानका पदाधिकारी प्रतिष्ठानको काम गर्न छाडेर क्षेत्राधिकार बाहिर गएर काम गर्दा प्रतिष्ठानकै गरिमामाथि आँच आएको बताए । रिमालले मन्त्रालयमा गरिएको सहमति प्रतिष्ठानको कार्यकारिणी समिति बैठकबाट अनुमोदन नगर्न समेत आग्रह गरेका छन् ।

Bigyapti 1