धरान : सिराहाको लहानस्थित मालपोत कार्यालयमा आज मध्यान्ह प्रेसर कुकर बम विस्फोट भएको छ । बम विस्फोटबाट ८ जना घाइते भएका छन् ।

लहान नगरपालिका-८ मा भाडामा रहेको मालपोत कार्यालयको माथिल्लो तल्लामा मध्यान्ह १२ बजेर ४० मिनेटमा कुकर बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

विस्फोटमा परी मालपोत कार्यालयका नायब सुब्बा शिवकुमार यादव, लेखापढी व्यवसायी धनगढीमाई नगरपालिका-१३ का भोलाबहादुर मगर, गोलबजार नगरपालिका-६ का लक्ष्मी राना, बेचनी मगर, सिराहा नगरपालिका-१६ का लालबहादुर विश्वकर्मा, गोलबजारकी फूलकुमारी ठाकुर, भगवानपुर गाउँपालिकाका बद्रिनारायण यादव, धनगढीमाई नगरपालिका–४ का दिनेश भण्डारी घाइते भएका छन् ।

गम्भीर घाइते भएका भण्डारी, मगर र यादवको उपचार सप्तऋषि अस्पताल लहानमा उपचार गरिएको थियो । थप उपचारको लागि सिराहा बाहिर पठाउन लागिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी तपन दाहालले जानकारी दिए ।

गम्भीर घाइते भएका भण्डारीको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ लगिएको छ भने एक जनालाई विराटनगर र एक जनालाई धरान उपचारका लागि पठाएको सिराहा प्रहरीले जनाएको छ ।

घटनास्थलमा जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) को पर्चा भेटिएको छ ।

Goit-parchha