इटहरी : निजी कलेजका कक्षा ११ र १२ का विद्यार्थीले गरेको आन्दोलनको कुनै औचित्य नभएको हिसान सुनसरीले जनाएको छ । आइतबार विज्ञप्ति जारी गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले सुनसरी वा इटहरीमा मात्र फरक नियम लागु हुन नसक्ने बताएको हो ।

केही दिन देखी बिद्यार्थीहरुले अनावश्यक शुल्क लिएको भन्दै विरोध जनाउँदै आएका थिए । कुनै राजनैतिक दबाब बिनै स्वतन्त्र रूपमा उठेका बिद्यार्थीहरुले लकडाउनको समयमा पढाई नभएको कारण शुल्क लिन नपाइने माग राखेका छन् ।

हिसान सुनसरीले भने लकडाउनको समयमा भर्चुअल विधिबाट पढाएको र त्यस समयको समेत शिक्षक कर्मचारीको तलब दिएको भन्दै शुल्क लिनु अन्याय नभएको बताएको छ । कसैका कर्तुतका पछाडी लागेर आफ्नो भविष्य जोखिममा पर्न नदिन र त्यसतर्फ अभिमुख हुन नदिन अभिभावक तथा बिद्यार्थीहरुमा अपिल गरिएको छ ।

अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागर प्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा कोरोना महामारीको बिचमा शुल्कमा कुनै वृद्धि नभएको उल्लेख गरिएको छ । नेपाल सरकारले गरेको निर्णय पालना गर्ने तर त्यसबाहेक अरू कुनै पनि मागको औचित्य नभएको विज्ञप्तिमा भनिएको छ ।

गत बुधवार इटहरीको कस्तुरी कलेजमा र शुक्रवार विश्वआदर्श कलेजमा बिद्यार्थीहरुले आन्दोलन गरेका थिए । आन्दोलनरत बिद्यार्थीहरुले इटहरी उपमहानगरपालिका समेत घेराउ गरेका थिए ।

hissan-bigyapti-2