धरान : कोरोना विरुद्धको दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान अन्तर्गत धरानमा छुटेकाहरूका लागि आज र भोलि दुई दिन थपिएको छ ।

धरान उपमहानगरपालिकामा यस भन्दा अघि छुटेका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरेर आज र भोलि दुई दिन धरानको ४ वटा खोप केन्द्रहरूबाट कोरोना विरुद्धको खोप लगाइने धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।

धरानमा फागुन २३ गते देखि सुरु भएको दोस्रो चरणको पहिलो प्राथमिकतामा परेका २१ हजार ६ सय ३१ जनालाई कोरोना विरुद्धको खोप लगाउने लक्ष राखिएकोमा करिब ६ हजारको हाराहारीले मात्रै खोप लगाएका छन् भने यस भन्दा अघिका कोरोना विरुद्धको खोप अभियान भन्दा ज्येष्ठ नागरिकहरू खोप अभियानमा उत्साहित भएर सहभागिता जनाएका थिए ।

धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका अनुसार धरानको ४ वटा खोप केन्द्रहरू छाता चौकको धरान स्वास्थ्य चौकी, धरान १४ को विजयपुरको दन्तकाली स्कुल, धरान १५ श्याम चोक, धरान १८ को देबीथान मार्गबाट लक्षित समूहलाई खोप लगाईदैछ ।

यसै गरी सुनसरी जिल्लामा १२ पालिका मध्ये ६ पालिकामा खोप अभियान थप भएको स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँले जानकारी दिए ।

थपिएका पालिकाहरूमा धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका, रामधुनी र बराहा नगरपालिका बर्जू, कोशी र हरीनगर गाउँपालिकामा दोस्रो चरणको पहिलो प्राथमिकतामा परेकाहरूका लागि कोरोना विरुद्धको खोप अभियान थप भएको छ ।