चतरा : नेपाली नेपाली काँग्रेस वराहक्षेत्रका नेता तथा क्षेत्र नं ४ का क्षेत्रीय प्रतिनिधि सुरेन्द्रप्रसाद गुप्ताले चतरामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई ५ लाख बराबरको स्वास्थ्य उपकरण तथा बिरामी कुरुवा कुर्सी प्रदान छन् ।

चक्रघट्टिमा आफ्नै न्यु सङ्गीता मेडिकल हल सञ्चालन गर्दै आएका काँग्रेस नेता गुप्ताले स्वास्थ्य उपकरण र स्वास्थ्य केन्द्रमा आउने सेवाग्राही कालागि प्रतीक्षालयमा कुर्सीहरू प्रदान गरेका हुन ।

५ लाख बराबरको सहयोग गरेका गुप्तालाई प्राथमिक स्वास्थ्य केन्द्र चतराले आइतबार औपचारिक कार्यक्रम गर्दै सम्मान पत्र सहित दोसल्ला ओढाएर सम्मान समेत गरेको थियो ।

आइतबारबाटै प्राथमिक स्वास्थ्य केन्द्र चतराले फिजियोथेरापी र थाईराइड लगायतका परीक्षण सहितको ल्याब सेवा सञ्चालनमा ल्याएको छ । नयाँ स्वास्थ्य सेवा उद्घाटन र स्वास्थ्य उपकरण हस्तान्तरण एवम् सम्मान कार्यक्रम आयोजना गर्दै स्वास्थ्य केन्द्र चतराले आन्तरिक व्यवस्थापनमा सञ्चालन आउने गरी व्यवस्थापन समितिको निर्णय अनुसार उक्त सेवा सञ्चालनमा ल्याएर सेवालाई बिस्तार गरेको हो ।

sewa-bistar

प्राथमिक स्वास्थ्य केन्द्र चतराको सभा हलमा सम्पन्न कार्यक्रममा वराहक्षेत्र वडा नं १ को कार्यालयबाट प्राप्त ११ थान बिरामी बेड लगाएका स्वास्थ्य सामाग्री पनि स्वास्थ्य केन्द्र चतरालाई हस्तान्तरण गरिएको थियो । उक्त स्वास्थ्य उपकरण खरिद बराबरको २ लाख रकम बराबरको चेक वडा नं १ का सचिव लक्ष्मण पौडेलले स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण भट्टराईलाई हस्तान्तरण गरेका थिए ।

सोही कार्यक्रममा विभिन्न समयमा स्वास्थ्य केन्द्र चतरालाई सहयोग गर्ने सहयोगी संस्थाहरू न्यु सङ्गीता मेडिकल हल चक्रघट्टि सहित वराहक्षेत्र नगरपालिका वडा नं १, नेपाल नेत्र ज्योति सङ्घ धनकुटा, सेवा फाउन्डेसन, इटहरी आँखा अस्पताल इटहरी र प्राथमिक स्वास्थ्य केन्द्र चतराका आर्थिक वर्ष २०७६/०७७ मा उत्कृष्ट सेवा प्रवाह गरेका कार्यालयका सूचना अधिकृत योगेन्द्र कटेल र कार्यालय सहयोगी पूजन बिकलाई सम्मान समेत गरेको थियो ।

उनीहरूलाई कदर पत्र सहित दोसल्ला ओढाएर कार्यक्रमका विशिष्ट अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेशप्रसाद पोख्रेल, कार्यक्रमका सभाध्यक्ष व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराई, कार्यालय प्रमुख डाक्टर अन्जु थापा, व्यवस्थापक डाक्टर अनिल गिरि लगायतले सम्मान गरेका थिए।

प्राथमिक स्वास्थ्य केन्द्र चतराका व्यवस्थापन समितिका सदस्य रमेशकुमार विष्टले स्वागत भाषण राखेको कार्यक्रममा व्यवस्थापन समिति सदस्य प्रह्लाद भट्टराई, सीता भण्डारी पौडेल, उपाध्यक्ष सुशीला शेर्पा, वडा नं ८ अध्यक्ष फडिन्द्र भट्टराई, सङ्गीता मेडिकलका सञ्चालक सुरेन्द्र गुप्ता, वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश प्रसाद पोखरेल लगाएले बोलेका थिए।

व्यवस्थापन समिति अध्यक्ष तथा वडा नं २ का अध्यक्ष हरिकृष्ण भट्टराईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।