धरान : भारत मटियारी ग्राम पञ्चायतका ३२ वर्षीय शिव लाल रायलाई विभिन्न ब्रान्डका सिल प्याक मदिरा सहित मोरङ प्रहरीले पक्राउ गरिएको छ ।

ठुलो परिणामको मदिरा नेपालबाट भारत तर्फ चोरी निकासी हुन लागेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले गए राती साढे १ बजे मोरङको जहदा-१ लंकाटोल स्थित रमेश यादवको घर कोठामा भण्डारण गरिएको मदिरा उमंग (UMANGA) लेखिएको ३०० मिली ग्रामको ५७ काटुन्, पलपल (PALPAL) लेखिएको ३०० मिली ग्रामको ४० काटुन्, सोफीका (SOFKA) लेखिएको ३०० मिली ग्रामको ३७ काटुन्, हरपल (HARPAL) लेखिएको ३०० मिली ग्रामको १५२ काटुन् र ३०० मिलिग्रामको खुल्ला १ हजार ९ सय ९५ बोतल मदिरा बरामद गरेको छ ।

उक्त स्टोरमा मदिरा भण्डारण गरी नेपालबाट भारत तर्फ चोरी निकासी गरी लैजान लागेका भारतीय नम्बर प्लेटको WB.20 Z.1087 नम्बरको कार र ४ वटा मोटरसाइकल सहित शिवलाल रायलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका रायको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।