झापा : विश्व उपभोक्ता अधिकार दिवसका दिन दमकमा पनि अन्तरक्रिया गरी मनाइएको छ ।

उपभोक्ता हित संरक्षण मञ्च दमकको आयोजनामा ‘उपभोक्ता अधिकार संरक्षणमा स्थानीय तहको भूमिका र कानुनी अवस्था’ विषयक अन्तरक्रिया सम्पन्न भएको हो । उपभोक्ता हित संरक्षण मञ्च, दमक-अध्यक्ष एवम् प्रदेश १ का उपाध्यक्ष डा. नवीन चापागाईँको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नगरपालिकाले उपभोक्ता अधिकारका क्षेत्रमा गर्दै आएका कामका बारेमा नगरपालिकाका विभिन्न अधिकारीहरूले जानकारी गराएका थिए ।

दिवसको यस वर्षको राष्ट्रिय नारा ‘प्लास्टिकको प्रयोगको दुरुत्साहन, वातावरण संरक्षणमा योगदान’ तय गरिएको थियो ।

यस्तै उपभोक्ता हित संरक्षण मञ्चले तय गरेको ‘उपभोक्ताको मौलिक हक कार्यान्वयनमा हाम्रो चासो, तिनै तहमा उपभोक्ता हित संरक्षण नीतिको खाँचो’ नाराका साथ विश्व उपभोक्ता अधिकार दिवस मनाइएको हो ।

कार्यक्रममा नगरप्रमुख ओलीले दमक नगरपालिकाले यस अघि नै प्लास्टिकका झोला, कप तथा प्लेटमा निषेध गरी सकेको तथा प्रभावकारी अनुगमनको अभावमा कतिपय ठाउँमा अझै प्रयोगमा रहेको बताए । यसको नियन्त्रणका लागि प्रभावकारी अनुगमन गर्न उनले अनुगमन समितिलाई निर्देशन पनि दिए ।

यस्तै केही समय अघि नगरसभाबाट बजार व्यवस्थापन तथा अनुगमन ऐन समेत जारी भएकाले नगरले कानुनी र नीतिगत रुपमानै उपभोक्ता अधिकार संरक्षणलाई प्राथमिकता दिएको बताए ।

उपभोक्ता हित संरक्षण मञ्चको तर्फबाट समेत उपभोक्ता सचेतना, जागरण तथा उपभोक्ता अधिकार रक्षाका लागि हुँदै आएका कामहरू प्रभावकारी रहेको भन्दै उनले आगामी दिनमा समेत नगरपालिकाले मञ्चसँग समन्वय गर्दै कार्यक्रमहरू सञ्चालन गर्नु पर्ने बताए ।

यस्तै नगरपालिकाका विधायन समिति संयोजक बोधराज न्यौपानेले सरोकारवाला सबै पक्ष बिच छलफल गरेर नयाँ ऐन ल्याइएको बताए ।

ऐनमा उपप्रमुख तथा कार्यपालिकाले तोकेको व्यक्ति संयोजक रहने, एक महिला, नगर प्रशासन बाट एक अधिकृत, सेवा प्रवाह गर्नेबाट २ महिला सहित ३ जना, दमक उद्योग वाणिज्य सङ्घका प्रतिनिधि १, उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने संस्थाबाट १ तथा शाखा प्रमुख सदस्य सचिव रहने गरी अनुगमन समितिको व्यवस्था गरिएको उनले जानकारी दिए ।

यस्तै बजार अनुगमन समितिका संयोजक भीम पौडेलले ऐनमा विभिन्न विषयगत अनुगमन समिति समेत गठन गर्न सकिने व्यवस्था भएकाले सो व्यवस्था पनि कार्यान्वयन गरी बजार अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाइने बताए । जनप्रतिनिधि आए पछि बजार अनुगमनलाई नियमित र तीव्र बनाइएको भन्दै पौडेलले उपभोक्ता अधिकारका क्षेत्रमा विगतको अवस्थामा भन्दा धेरै सुधार आएको बताए ।

अन्तरक्रियामा नगरपालिका प्रशासन शाखा प्रमुख यज्ञराज निरौलाले ऐनमा भएका व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गरी बजार व्यवस्था र अनुगमनलाई प्रभावकारी बनाइँदै लगेको बताए ।

यसै गरी नगरपालिकाका खाद्य निरीक्षक लक्ष्मी न्यौपाने तथा सहायक निरीक्षक पवन पराजुलीले विभिन्न सङ्घ संस्थाको समेत समन्वयमा नियमित बजार अनुगमन हुने गरेको बताए । उपभोक्ता अधिकार हनन् हुने गरी व्यवसायीक कारोबार गर्ने कतिपय व्यवसायीलाई दण्डित समेत गरिएको उनले जानकारी दिए ।

कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च दमकका उपाध्यक्ष एवम् अधिवक्ता देवेन्द्र भण्डारीले भएका कानुन कार्यान्वयन गर्दै उपभोक्ता अधिकारलाई प्रत्याभूत गराउनु पर्नेमा जोड दिए ।

यस्तै उहाँले स्थानीय तहले बनाएका कानुन तथा भएका व्यवस्था बारे सरोकारवालाहरूलाई जानकारी गराउन जरुरी रहेको पनि बताए । कार्यक्रममा एसिया फाण्डेशनका प्रतिनिधि श्याम सापकोटाले उपभोक्ता अधिकार रक्षा, कानुन निर्माण, सचेतना अभिवृद्धि जस्ता क्षेत्रमा दमक नगरपालिकाले अग्रणी भूमिका निर्वाह गरी रहेको बताए ।

अध्यक्ष एवम् उपभोक्ता हित संरक्षण मञ्च दमकका अध्यक्ष एवम् प्रदेश १ का उपाध्यक्ष डा। नवीन चापागाईँले नगरपालिकाले उपभोक्ता अधिकार संरक्षणका लागि नयाँ ऐन ल्याएकोमा धन्यवाद दिँदै आगामी दिनमा समेत मञ्च नगरपालिकासँग समन्वय गर्न तयार रहेको बताए फुटपाथ तथा खुद्रा बजार, मासु बजार जस्ता छरिएका व्यवसायलाई समेत एकत्रित गरी बजार व्यवस्थापन र शुद्ध बस्तु तथा सेवा खरिद विक्रीको वातावरण बनाउन आवश्यक रहेको पनि उनले बताए ।

हरेक वर्ष मार्च १५ मा विश्व उपभोक्ता अधिकार दिवस मनाउने गरिन्छ । नेपालमा पनि ‘प्लास्टिक प्रयोगमा निरुत्साहन, वातावरण संरक्षणमा योगदान’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको हो ।