धरान : प्रदेश १ स्तरीय बराह महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिता आज देखि सुरु भएको छ ।

पहिलो दिन केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार महिला पुरुष टिम, धरान मेघा कलेज, विकेभिएम विराटनगर, डिपोट आदर्श बहुमुखी क्याम्पस र सियोन स्कुल विजयी भएका छन् ।

२३ वर्ष मुनिका विद्यार्थीहरूले मात्र सहभागिता हुन पाउने प्रतियोगिताको पहिलो खेलमा पुरुष तर्फ हात्तीसार कलेजले एम्स एकेडेमीलाई ३०-२२, धरान मेघा कलेजले सगरमाथा एसडि कलेजलाई २८-२६, विकेभिएम विराटनगरले टावर टेम्पल बिर्तामोडलाई ३२-२९, डिपो कलेजले राष्ट्रिय जनसहयोग इटहरीलाई ३८-२४ र सियोन स्कुलले सिटी कलेजलाई २७-२१ अङ्कले पराजित गरेका थिए ।

त्यस्तै गरी महिला तर्फ हात्तीसार टिमले धरान आदर्श टिमलाई १६-११ अङ्कको अन्तरले पराजित गरेको छ ।
धरान बास्केटबल सङ्घको आयोजना तथा बराह ग्रुपको मुख्य प्रायोजनमा धरान-१२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सोमवार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन १ न. प्रदेश सभामुख प्रदीप भण्डारीले गरेका छन् । उनले पानसमा द्विप प्रज्वलन गर्दै रेफ्रिलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका थिए ।

Basket-ball-1

चैत्र ५ गते सम्म सञ्चालन हुने प्रतियोगितामा धरान, विराटनगर, बिर्तामोड र इटहरीका कलेजका टिमले सहभागीता जनाएको छ । सहभागि कलेजहरूमा पुरुष तर्फ डिपोट, महेन्द्र कलेज, धरान मेघा कलेज, केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार, सियोन, सिटी कलेज, राष्ट्रिय जनसहयोग इटहरी, टावर टेम्पल बिर्तामोड, एम्स, सगरमाथा, विकेभिएम विराटनगर, धरान आदर्श, र विष्णु मेमोरियल रहेका छन् ।

त्यस्तै गरी महिला टिमहरूमा डिपोट, धरान अर्दश, विष्णु, हात्तीसार, सियोन र विकेभिएम रहेका छन् । विजेता टिमले पुरुष तर्फ नगद १५ हजार, उपविजेताले नगद ७ हजार ५ सय, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । महिला तर्फ विजेताले नगद १० हजार र उपविजेताले नगद ५ हजार, ट्रफि, प्रमाण पत्र र मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगीताका उत्कृष्ट खेलाडीले नगद २ हजार, हाइ स्कोररले नगद १ हजार रुपैयाँ र राइजिङ प्लेयरले ट्रफि र प्रमाण पत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल अघि प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसन समेत हुने आयोजकले जनाएको छ ।

नेपालका चर्चित गायक तथा धरानका पूर्व बास्केटबल खेलाडी प्रकाश पौडेलको सहयोगमा थ्री पोइन्ट कम्पिटिसन हुन लागेको हो । महिला र पुरुषको छुट्टै प्रतिस्पर्धा गराइने कम्पिटिसनमा विजेताले जनही नगद ३ हजार रुपैयाँ, ट्रफि र मेडल प्राप्त गर्नेछ ।

नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा धरान-१७ नं वडाध्यक्ष मनोज भट्टराई, धरान-१८ वडाध्यक्ष प्रवीण राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु, जिल्ला बास्केटबल सङ्घ सुनसरीका अध्यक्ष नारायण सुवेदी, एन्फा प्रदेश १ सचिव नवीन राई, धरान सरोकार समाजका अध्यक्ष प्रभु श्रेष्ठ, युवा नेता दीपक वनेपाली, युवा व्यवसायी सम्राट् श्रेष्ठ, वराह ग्रुप जनसम्पर्क प्रमुख सुरेन्द्रसिंह विश्वकर्मा, समन्वय समिति प्रमुख भोलानाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।

भोलिको खेल हात्तीसार र सियोन, महेन्द्र र मेघा, विकेभिएम र विष्णु, डिपो र धरान आदर्श र महिला तर्फ डिपो र विकेभिएम विराटनगर बिच प्रतिस्पर्धा हुनेछ ।

Basket-ball