धरान : इटहरी उपमहानगरको आठौँ नगर सभाको बैठकले आर्थिक वर्ष २०७७/७८ को पूरक बजेट पारित गरेको छ ।

नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा भएको बैठकले १ अर्ब ९५ करोड ४० लाखको संशोधित पूरक आय व्यय अनुमान पारित गरेको हो ।

गएको फागुन १४ गते उपप्रमुख लक्ष्मी गौतमले पूरक बजेट सभामा पेस गरेका थिए । यसै गरी आजको बैठकले विनियोजन ऐन संशोधन विधेयक र आर्थिक ऐन संशोधन विधेयक पारित गरेको छ ।

विधेयक माथि भएको छलफलमा नगर सभा सदस्य गणेश खत्रीले भाग लिएका थिए । छलफलमा उठेका प्रश्नको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिएकी थिइन् ।

नगर सभाको आजको बैठकमा उपप्रमुख गौतमले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तर वृद्धि सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७७ पेस गरेका छन् ।

अर्को बैठक चैत ३ गते दिउसो ३ बजे बस्ने छ ।