इटहरी : नेपाल पत्रकार महासङ्घ सुनसरीद्वारा ४ जना सम्मानित भएका छन् । लामो समय देखि पत्रकारिता गर्दै आएका सुविद गुरागाई, चेतन धमला र गोपाल देवान र महासङ्घकी कर्मचारी रश्मि प्रधानलाई सम्मान गरेको हो ।

पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा इटहरीमा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । उनै कार्कीले स्थापना गरेको स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति पुरस्कारबाट गुरागाईँ र धमलालाई २५ हजार नगदसहित सम्मान गरिएको हो ।

पूर्वी हटलाइनका प्रकाशक तथा पत्रकार शालिग्राम पाण्डे र मेनुका पाण्डेले माता लक्ष्मी र पिता चन्द्रबहादुर पाण्डेको नाममा स्थापना गरेको चन्द्र-लक्ष्मी स्मृति सृजनशील पत्रकारिता पुरस्कारबाट नगद ११ हजार १ सय ११ रुपैयाँसहित देवान सम्मानित भएका हुन् ।

महासङ्घ सुनसरीकी कर्मचारी रश्मि प्रधानलाई प्रोत्साहन स्वरूप ५ हजार प्रदान गरिएको अध्यक्ष अमर खड्काले जानकारी दिए ।

आफ्नो कार्यकालको अन्तिम औपचारिक कार्यक्रम भएको स्मरण गराउँदै खड्काले केही दिनपछि आउने नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए । ३ बर्से कार्यकालमा आफूबाट भएका कमजोरीमा क्षमा माग्दै उनले अब नयाँ पुस्ताले नयाँ जोशका साथ काम गरेको हेर्न चाहेको बताए ।

कार्यक्रममा पत्रकार महासङ्घका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, निवर्तमान प्रदेश १ प्रमुख गोविन्द तुम्बाहाम्फे लगायत सक्रिय पत्रकारहरूको उपस्थिति रहेको थियो ।