इटहरी : नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्र बहादुर कार्कीले यो सरकार भ्रष्टाचारको पक्षमा लागेको बताएका छन् । सरकार सरकारले जनतालाई गफमा भुल्याएर नाङ्गो नाच देखाएको उनले बताए ।

नेपाल पत्रकार महासङ्घ सुनसरी शाखाले इटहरीमा आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा बोल्दै कार्कीले सरकार पूर्णतः असफल भएको दाबी गरे ।

कार्की आफैले स्थापना गरेको गिरिजाप्रसाद कोइराला स्मृति विकास पत्रकारिताको पुरस्कार वितरण गर्न आएका उनले कार्यक्रममा बोल्दै लोकतन्त्र र जनताको पक्षमा काँग्रेस लागि परेको धारणा राखे ।

गिरिजा प्रसादको विकासको सपना पुरा गर्ने उद्देश्यले पत्रकारिता पुरस्कार स्थापना गरेको बताउँदै कार्कीले लोकतन्त्र र विकासको लागि पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताए । गणतन्त्रका सुत्राधार कोइरालाको नाममा आफूले पुरस्कार घोषणा गर्दा धेरै गर्वान्वीत महसुस गरेको उल्लेख गरे ।

'पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो।' उनले भने, 'लोकतन्त्र सक्षम नभई देशको विकास हुँदैन । त्यसैले पत्रकारिता क्षेत्रमा ऊर्जा दिन जरुरी छ।'

लोकतन्त्रलाई प्रहार गर्न नदिन पत्रकारिताको महत्त्वपूर्ण भूमिका भएको उनले प्रस्ट पारे । कार्कीले घोषणा गरेको ५० हजार राशिको पत्रकारिता पुरस्कारबाट चेतन धमला र सुबिद गुरागाईँ सम्मानित भएका छन् ।