धरान : धरानमा जारी २१ औँ गोधुली टुबोर्ग रनिङ फुटबल प्रतियोगितामा वडा नम्बर-१७ सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न क्वार्टरफाइनल खेलमा वडा नं-१३ लाई २-१ गोल अन्तरले हराउँदै वडा नं-१७ सेमिफाइनलमा प्रवेश गरेको छ । मध्यान्तर अघि वडा नं-१३ का दोर्जे तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । वडा नं-१७ का खेलाडी मनोज राईले आफ्नो समूहबाट पहिलो गोल गरी खेललाई बराबरी बनाउन सफल भएका थिए ।

मध्यान्तर पछिको खेलमा धरान-१७ का मिलन राईले दोस्रो तथा निर्णायक गोल गरेपछि धरान-१७ सेमिफाइनलमा पुग्न सफल भएको हो ।

खेलको म्यान अफ दि म्याच वडा नं-१७ का मनोज राई घोषित भए । उनले नगद २ हजार पुरस्कार हात पारे । यसै गरी भोलि मङ्गलवार अन्तिम क्वार्टरफाइनल खेल वडा नं-१४ र वड नं-१८ बिच हुने आयोजकले जनाएको छ ।