इटहरी : मंगलबार इटहरी उपमहानगरपालिका घेराउ गर्न पुगेका विद्यार्थी निकै आक्रोशित देखिन्थे । विगत एक हप्ता देखी लकडाउनको समयको शुल्क मिनाहा गर्न माग गरे पनि सुनुवाइ नभएको भन्दै आन्दोलन जारी राखेका छन् ।

'पाइपले हानेपछि थाहा पाउँछौ । तिमिहरू सँग वार्ता गर्न सक्दैनौ, प्राक्टिकलको नम्बरमा जानेको छ।' भन्दै सरहरूले धम्की दिनुहुन्छ -आन्दोलनमा सहभागी एक विद्यार्थीले भनिन् ।, 'त्यतीमात्र हैन बुवा आमालाई फोन गरेर छोराछोरीले पढेन भनेर हामीलाई नभन्नु पछि फेल भयो भने हामी केही जान्दैनौ भन्दै धम्की दिनुहुन्छ ।' निकै निराश देखिएकी उनले सरहरूले धेरै टर्चर दिएको सुनाइन् ।

विगतमा राजनैतिक विद्यार्थी सङ्गठनले मात्र गर्ने आन्दोलन इटहरीमा निजी कलेजका  विद्यार्थीले पनि सुरु गरेका छन् । लकडाउनको समयमा पढाई नभएकाले शुल्क लिन नपाइने भन्दै एक साता देखी उनीहरू आन्दोलनरत छन् ।

सोमबार नेकपा एमाले सम्बद्ध अनेरास्ववियुले झारो टार्ने विज्ञप्ति निकालेर विद्यार्थीको माग सुनुवाइ हुनुपर्ने बतायो । नेपाली काँग्रेस सम्बद्ध नेपाल विद्यार्थी सङ्घले भने अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । मंगलबार भएको आन्दोलनमा समेत कुनै विद्यार्थी सङ्गठनले सहभागिता जनाएनन् । 

इटहरीको कस्तुरी कलेजबाट सुरु भएको आन्दोलन अन्य कलेजमा पनि सरेको छ । गत बुधवार कस्तुरी कलेजका विद्यार्थीले शुल्क मिनाहाको माग गर्दै आन्दोलन सुरु गरेका थिए । सोही क्रममा इटहरीकै विश्व आदर्श कलेजका विद्यार्थीले पनि माग राखे । मंगलबार भने इटहरीका प्रमुख कलेज मानिएका कस्तुरी, कोसी र विश्व आदर्शका विद्यार्थीले इटहरी उपमहानगरपालिका घेराउ गरेका थिए ।

कस्तुरी कलेजमा अध्ययनरत विद्यार्थी निश्चल पौडेलका अनुसार 'कलेजले ७ महिना पढाएर १२ महिनाको पैसा लिइरहेको छ।' अफिसमा गएर माग राख्दा बेवास्ता गरेको कारण स्थानीय सरकारको ढोकामा न्याय माग्न पुगेको उनले बताए ।

कोसी कलेजकी विद्यार्थी रोइनी गुरुङ भर्चुअल कक्षाको भन्दै पैसा मागेको गुनासो गर्छिन् । हामी ४ सय जना विद्यार्थी थियौँ तर १ सय जना पनि नेटको पहुँचमा थिएनौ । अहिले सबैलाई जबरजस्ती पैसा तिर्नुपर्छ भन्नुहुन्छ । त्यो बेला पनि १० हजार तिरेर मात्रै जुम आइडीको पासवर्ड दिनु भएको थियो ।, उनले भनिन, 'अब सम्पूर्ण शुल्क तिरेपछि मात्रै वार्षिक फर्म भर्न पाइन्छ । ६ महिनाको तिरिसक्यौ । बाकी पैसा मागेर हैरान पारिसक्नु भयो ।'

आइतबार नै एक विज्ञप्ति जारी गर्दै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान)ले आन्दोलनको कुनै औचित्य नभएको बताएको छ । सुनसरी वा इटहरीमा मात्र फरक नियम लागु हुन नसक्ने हिसानको तर्क छ ।

biswa-adarsha-college-1

केही दिन देखी जारी विद्यार्थी आन्दोलनको निन्दा गर्दै हिसानले कसैका कर्तुतका पछाडि लागेर आफ्नो भविष्य जोखिममा पर्न नदिन र त्यसतर्फ अभिमुख हुन नदिन अभिभावक तथा बिद्यार्थीहरुमा अपिल गरिएको छ । लकडाउनको समयमा भर्चुअल विधिबाट पढाएको र त्यस समयको समेत शिक्षक कर्मचारीको तलब दिएको भन्दै शुल्क लिनु अन्याय नभएको बताएको हो ।

विद्यार्थीको मागको विषयमा इटहरी उपमहानगरपालिकाले भने कुनै प्रतिक्रिया जनाएको छैन । शिक्षा शाखा प्रमुख सूर्य सुवेदी उपमहानगरले निजी विद्यालयहरू सँग छलफल गरेर निर्णय गर्ने बताए । खास वास्तविकता बुझेर अगाडी बढ्ने उनको भनाई छ ।

इटहरीमा ठुला साना गरी कक्षा ११ र १२ पढाउने १ दर्जन बढी कलेज सञ्चालनमा छन् । मनमौजी शुल्क लिइरहेका कलेजको विरुद्धमा निजी कलेजका विद्यार्थीको यो नै पहिलो आन्दोलन हो । कतिपयले यसलाई लकडाउनको असरको रूपमा समेत चित्रित गर्न थालेका छन् । तर विद्यार्थीको मागमा विद्यार्थी सङ्गठन भने अझै मौन छन् ।