इटहरी : इटहरी उपमहानगरको आठौँ नगर सभा सम्पन्न भएको छ । फागुन १४ गते सुरु भएको सभा चैत २ र ३ गरी तीन दिन बसेर सम्पन्न भएका हो ।

सभाले १ अर्ब ९५ करोड ४० लाखको संशोधित पूरक आयव्यय पारित गरेको छ । यसैगरी विनियोजन ऐन संशोधन विधेयक र आर्थिक ऐन संशोधन विधेयक पारित भएको छ ।

यसै गरी नगरसभाले इटहरी उपमहानगरका कर्मचारीको तह तथा स्तर वृद्धि सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७७ र इटहरी उपमहानगरका कर्मचारीको स्थायी तथा करार नियुक्ति गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक २०७७ पारित गरेको छ ।

यस्तै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्ने सम्बन्धमा व्यवस्था गर्न वनेको विधेयक, इटहरी उपमहानगरपालिकाको केही ऐनलाई संशोधन गर्न वनेको विधेयक, इटहरी स्वास्थ्य ऐनका सम्बन्धमा वनेको विधेयक, इटहरी भू-उपयोग तथा जग्गा व्यवस्थापन गर्न वनेको विधेयक, टोल विकास संस्था सञ्चालन तथा व्यवस्थापन गर्न वनेको विधेयक पारित भएको छ ।

सभामा विधेयक माथि भएको छलफलमा नगरसभा सदस्यहरू गणेश केसी, तोया ढकाल र कुमारी न्यौपानेले भाग लिएका थिए । छलफलमा उठेका विषयको उपप्रमुख लक्ष्मी गौतमले जवाफ दिएकी थिइन ।

सभाको समापनमा मन्तव्य व्यक्त गर्दै प्रमुख द्बारीकलाल चौधरीले कोरोना महामारीका कारण लक्ष्य बमोजिमको राजश्व सङ्कलन हुन नसक्दा सातौँ नगरसभाबाट स्वीकृत कार्यक्रम र विकास निर्माणमा असर परेको बताए ।

यस्तो परिस्थितिमा सीमित स्रोत साधनका बाबजुद पनि नगरवासीका आकांक्षा र चाहना पूरा गर्न उपमहानगर लागि परेको बताए । उनले आठौँ नगर सभाले पारित ऐन कार्यान्वयनमा लागि पर्ने प्रतिबद्धता समेत जनाए ।