विराटनगर : अस्पतालमा उपचार बापतको पैसा तिर्न नसक्दा सुनसरी इनरुवाका एक किशोर विराटनगर अस्पतालमा एक महिनादेखि बन्धक छन् ।

सुनसरीको इनरुवा नगरपालिका-७ चाँदबेलाका १९ वर्षीय रविन सरदार एक महिनादेखि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा बन्धक बनाइएका छन् ।

इटहरी-१६ बालग्राममा रहेको सनसाइन एकेडेमी बोर्डिङ स्कुलले उनको उपचार गराए बापतको पैसा तिर्न आनाकानी गरिरहेको छ । स्कुलको ना ८ ख ८४१८ नम्बरको बस र रविनले चलाएको को २४ प ७३२६ नम्बरको मोटरसाइकल ठोक्किएर गत माघ २१ गते दुर्घटना भएको थियो ।

इटहरी-८ फूलबारी टोलमा भएको दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको टाउकोमा गहिरो चोट लाग्नुका साथै मुखको हड्डी टुट्नुका साथै दाँतहरू भाँचिए । अस्पतालका न्युरो सर्जन डा। विवेक वैद्य नेतृत्वको चिकित्सक टोलीले टाउकाको शल्यक्रिया गरेको थियो । पैसा नहुँदा मुखको भने शल्यक्रिया हुन सकिरहेको छैन ।

उपचार ठीक भएको भन्दै अस्पतालले गत फागुन ४ गते नै डिस्चार्ज दिइसके पनि स्कुलले उपचार गर्दा लागेको पैसा तिर्न नमानेपछि एक महिनासम्म रविनलाई परिवारका सदस्यले घर लैजान सकेका छैनन् ।

अस्पतालले पनि उपचार खर्च भुक्तानी नभएसम्म घर जान नदिने बताएको आमा उकावती सरदारले बताइन् । अस्पतालले घर लैजानु भने पनि छोरालाई अस्पतालमै रुँगेर बस्नु परिरहेको उनको भनाइ छ ।

दुर्घटना लगत्तै बसका चालक इटहरी बालग्रामकै ४५ वर्षीय गोपाल नेपाली र बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । तर कुनै कारबाही नै नगरीकन छाडिसकेको पाइएको छ । इलाका प्रहरी कार्यालय इटहरीमा छलफल भएपछि सहमतिको कागज तयार पारिएको उनको भनाइ छ ।

उनका अनुसार उपचार ठिक भएपछि बिल हेरेर सबै पैसा स्कुलले भुक्तानी गरिदिने र मोटरसाइकल पनि बनाइदिने सर्त थियो । रविनको परिवार सुकुम्वासी जीवन बिताइरहेको छ ।

कसैको नाममा जग्गा जमिन छैन । रविन राज मिस्त्री हुन् । जीविका चलाउन परिवारका अरू ज्याला मजदुरी गर्छन् । पारिवारिक आर्थिक अवस्था नाजुक रहेको स्थानीयले बताए ।

छोराको प्रारम्भिक उपचारका लागि एक लाख ५० हजार ऋण गरेर र घरमा भएका हलगोरु बेचेर जुटाएको पीडित परिवारको भनाइ छ । अस्पतालका लेखा प्रमुख सुवास पोखरेलले रविनको उपचारमा ६ लाख ७० हजार रुपैयाँ खर्च भएको जानकारी दिए ।

दुई लाख ७५ हजार तिरिसकेको र तीन लाख ९५ हजार रुपैयाँ तिर्न बाँकी रहेको उनको भनाइ छ । त्योमध्ये एक लाख २० हजार रुपैयाँ भने स्कुलले उपलब्ध गराएको हो । अरू रकम रविनकै परिवारले जुटाए । परिवारले औषधिको पनि दुई लाख रुपैयाँभन्दा बढी तिर्न बाँकी रहेको जनाएको छ ।

पीडित पक्षले प्रहरीसँग स्कुलले सेटिङ मिलाएर आफूहरूलाई थप पीडा दिएको गुनासो गरेका छन् । न्याय दिलाउने भूमिकामा हुनुपर्ने प्रहरीले उल्टो खेल खेलेको उनीहरूको दाबी छ ।

दुर्घटनामा परेर कोही गम्भीर घाइते वा अङ्गभङ्ग भएमा चालकलाई सवारी अङ्गभङ्ग मुद्दा चलाउने कानुनी व्यवस्था छ । तर प्रहरीले भने केही पनि कारबाही नगरीकन छाडिदिएको पाइएको छ ।