धरान : पूर्वराज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका पूर्वपोलिटब्यूरो सदस्य श्रीप्रसाद जबेगु माओवादी केन्द्र छोडेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताए पछि एमालेमा प्रवेश गरेका जबेगु संविधानसभा सदस्य समेत हुन ।

उनी दोस्रो संविधानसभामा माओवादीबाट समानुपातिक सभासद् थिए । जबेगु २०७३ सालमा प्रचण्डको नेतृत्वमा गठन भएको सरकारमा सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री र पशुपंक्षि विकास राज्यमन्त्री भएका थिए ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिच एकता हुनु अगाडि नेकपा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य रहेका जबेगु पार्टी एकता पछि जिम्मेवारी विहीन थिए ।

निकै लामो समय सम्म कुनै पनि जिम्मेवारी नदिइएको र आफूले पनि पार्टीले जिम्मेवारी दिन्छ कि भनेर ३,४ वर्ष सम्म कुरेको उनले कपुरी न्युजसँग बताए । एकताको क्रममा कुनै पनि जिम्मेवारी नदिइए पछि असन्तुष्ट रहेका जबेगुले भने ‘पार्टी एकतापछिको यो समय सम्म कुनै पनि जिम्मेवारी दिइएन । त्यसैले मन भाच्यिो ।

एकतामा गएर पनि पार्टीले जिम्मेवारी नदिनु र बेवास्ता गर्नुले गर्दा आफू उपेक्षित भएको महसुस गरी एमालेमा प्रवेश गरेको टेलिफोन मार्फत जानकारी दिए । जबेगुले माओवादी केन्द्र निकट लिम्बुवान मुक्ति मोर्चाको अध्यक्षको रूपमा तीन कार्यकाल नेतृत्व गरेका थिए । एमाले प्रवेश गरेका जबेगुको जिम्मेवारीबारे एमालेमा अहिले सम्म निर्णय भैसकेको छैन ।

उनी भन्छन्,-जिल्ला इन्चार्ज सम्मको जिम्मेवारी वा अरू केही महत्त्वपूर्ण जिम्मेवारी आइपर्न सक्छ । यसबारेमा छलफल भइरहेको र केही दिनमा निर्णय हुने पनि उनले बताए ।