धरान : नेवा पत्रकार राष्ट्रिय दवू सुनसरीको पाँचौँ अधिवेशनले मोहन श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ ।

धरानको झिगु समाजको हलमा आज सम्पन्न अधिवेशनले समितिको उपाध्यक्षमा मञ्जु शाक्य, सचिवमा विक्की श्रेष्ठ, सहसचिवमा लक्ष्मण श्रेष्ठ, र कोषाध्यक्षमा रश्मि प्रधान चयन भएका छन् ।

यस्तै सदस्यहरूमा सौरभ श्रेष्ठ, विक्रान्त श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, अनिता श्रेष्ठ, स्नेह श्रेष्ठ र अनिल श्रेष्ठ रहेका छन् । आज नै समितिको पहिलो बैठक बस्दै चैत ९ गते खलपुचहरूसँग अन्तरक्रिया गरिने भएको अध्यक्ष मोहन श्रेष्ठले बताए । सोही कार्यक्रमकै दिन समितिको पदस्थापन पनि गरिने भएको छ । त्यस्तै वैशाखको दोस्रो साता आधारभूत पत्रकारिता तालिम गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।

उद्घाटन सत्रमा दवू सुनसरीका संस्थापक अध्यक्ष एवम् सल्लाहकार महेश श्रेष्ठले ओखलढुङ्गाका उज्जनकुमार श्रेष्ठको हत्याकाण्डको विरोधपछि नै पत्रकार दवू गठन भएको बताए । आजको अवस्था सम्म आइपुग्दा ११ वर्ष बितिसकेको र केन्द्रीय समिति पनि गठन भइसकेको उनले बताए ।

अर्का सल्लाहकार आनन्द श्रेष्ठले आफ्नो संस्कार, संस्कृतिको जगेर्ना र रक्षाका निम्ति पनि यो संस्था आवश्यक रहेको बताए । कार्यक्रममा पत्रकार दवूका जिल्ला सल्लाहकार तथा संस्थापक सचिव भोला श्रेष्ठ, सल्लाहकार सोहन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।