इटहरी :  थाइल्याण्डमा रोजगारीको प्रलोभन देखाएर ३७ जना युवाबाट १ करोड बढी रकम सङ्कलन गरी इटहरीबाट एक एजुकेसन कन्सल्टेन्सी सञ्चालक फरार भएका छन् । युएई हुँदै थाईल्याण्ड पुर्‍याइदिने भन्दै ६ महिना देखी रकम सङ्कलन गरी रहेका उनीहरू १० दिन देखी बेपत्ता भएका हुन् ।

इटहरीको नेसनल गल्लीमा रहेको रोयल पाण्डा एजुकेसन कन्सल्टेन्सी चलाउँदै आएका दीपक ढुङ्गेल र उनका सहयोगी विशाल आचार्य हाल सम्पर्क विहीन अवस्थामा छन् ।

प्रति व्यक्ती २ लाख ५० हजार देखी २ लाख ८० हजार सम्म लिएका उनीहरूले युएईको लागी यहीँ मार्च ६ तारीकको टिकट समेत काटिदिएका थिए । युएई जान विमानस्थल पुगेका युवाहरू टिकट क्यान्सील भएको बुझेपछि झस्किए । त्यसपछि ढुङ्गेल र आचार्य दुवैलाई सम्पर्क गर्दा फोन अफ भएपछि उनीहरू बिचल्लीमा परेका हुन् ।

त्यस मध्येका एक मिन बहादुर थापा ऋण काढेर दिएको पैसा डुबेको बताउँछन् । अधवैशे उमेरमा विदेश जान लागेका उनी छोराछोरीलाई राम्रो स्कुलमा पढाउन योजनामा थिए । भोजपुरबाट इटहरी तिरै बसाई सर्ने सोच बनाएका उनी पैसा फसेपछी दोधारमा छन् । 'नभएको पैसा डुबाएर घर फर्कन पनि मन छैन।', उनले भने, कुनै शिप नभएपनि हुने भन्दै सुपरमार्केटमा जागीर दिन्छु भन्दै पैसा मागेको थियो । अहीले यो हालत भयो।'

२ लाख ७० हजार तिरेको बताउने थापा साथीको लहैलहैमा फसेको बताउँछन् । थापा जस्तै साथी कै भर परेर आएका इटहरीका बलराम चौधरीको पनि २ लाख ७० हजार नै फसेको छ । नेपालमा केही रोजगारी नपाएका उनी विदेशमा एकै पटक धेरै कमाई हुने भएपछि रोयल पाण्डा एजुकेसनमा पुगेका थिए । मासिक १ लाख सम्म कमाई हुने सुनेका चौधरी सुरुमा निकै हौसिएका थिए । ठगिएको थाहा पाएपछि भोक निन्द्रा हराएको बताउँछन् उनी ।

ठगहरू विरुद्ध इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिन पुगेका उनीहरूलाई प्रहरीले फर्काइदिएको छ । वैदेशिक रोजगार सम्बन्धी विषय भएकोले श्रम कार्यालय जानु भनेर सल्लाह दिएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले बताए।

पीडित युवाहरूले श्रम तथा रोजगार कार्यालय प्रदेश १ मा उजुरी दिएका छन् । उजुरी पश्चात् कार्यालयले ठगहरूको खोजी गरी कारबाही गरिपाऊँ भन्दै प्रधानमन्त्रीको कार्यालयलाई पत्र पठाइसकेको छ ।

Royal-panda-pidit