इटहरी : इटहरी उपमहानगरमा इटहरी अपाङ्गता सञ्जाल गठन भएको छ ।

दिलकुमारी राईको संयोजकत्वमा सञ्जाल गठन भएको हो । सञ्जालको उपाध्यक्षमा रमानन्द खत्वे, सचिवमा रामु कार्की, सहसचिवमा राम बहादुर भुजेल र कोषाध्यक्षमा रिता पौडेल रहेका छन् । सञ्जालमा इटहरीको २० वटै वडाबाट प्रतिनिधित्व रहेको छ ।

अव इटहरीका प्रत्येक वडाहरूमा अपांङ्गता भएका व्यक्तिहरूलाई सङ्गठित गर्दै वडा मिलीजुली समूह गठन गरिने र त्यसलाई टोलहरूमा समेत विस्तार गरिने इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् ।

इटहरीमा अपाङ्गता सम्बन्धी योजना तर्जुमा, कार्यान्वयन र अनुगमनमा समेत अपाङ्गता भएकाहरूलाई सहभागिता गराउन टोल-टोल सम्म समूह गठन गर्न लागिएको छ । इटहरी अपाङ्गता सञ्जालले इटहरी उपमहानगरमा सञ्चालित अपाङ्गता रोकथाम तथा नियन्त्रण कार्यक्रम कार्यान्वयनमा सहयोग पुर्‍याउने छ ।

अपाङ्गता भएकाहरूको पहिचान गरी उनीहरूलाई सिप सिकाएर क्षमता विकास गर्दै आत्मनिर्भर बनाइने उपप्रमुख गौतमले बताइन् ।