धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सवारी साधनको चाप बढे संगै अस्तव्यस्त बनेको पार्किङलाई व्यवस्थित बनाइने भएको छ ।

दिनप्रतिदिन विभिन्न जिल्लाबाट बिरामीसँगै आएका सवारी साधनको स्थानमा एम्बुलेन्स समेत पार्किङ गर्न असहज हुने गरेको छ भने स्कुटर बाइक दैनिक हराउने र दुर्घटना पनि उत्तिकै बढेको छ ।

अस्तव्यस्त पार्किङ स्थललाई व्यवस्थित गर्ने उद्देश्यले प्रतिष्ठानका रजिस्ट्रार प्रा.डा. मोहनचन्द्र रेग्मीद्वारा आयोजना गरेको छलफलमा धरानका डिएसपी ज्ञानेन्द्र बस्नेत, धरान-१८ का वडाध्यक्ष प्रवीण राई, सुनसरी ट्राफिक कार्यालयका इन्स्पेक्टर भुवन बाबु खड्का इन्जिनियर अधिकृत विकाश बस्याल, भिआइपी सेक्युरिटी इन्चार्ज टेक लोहनीको उपस्थितमा पार्किङ व्यवस्थापनका लागि महत्त्वपूर्ण निर्णय सहित स्थलगत निरीक्षण गरेका थिए ।

रजिस्ट्रार रेग्मीले पार्किङ स्थलको अनुगमन गरेर ठाउँ फराकिलो बनाउने सिसी क्यामरा राख्ने र प्रतिष्ठानका कर्मचारीलाई छुट्टै पार्किङ स्थलको व्यवस्था गर्ने बताएका छन् ।

बिपीको गेट बाहिर अव्यवस्थित रहेका इ-रिक्सा, टेम्पु हरुले गर्दा बिरामीहरूलाई आवतजावत गर्न असहज भएकाले दुर्घटना बढेकाले गुम्बा नजिकबाट एउटा गेट निकालेर टेम्पु पार्किङ बनाएर केही बिरामीहरूलाई सोही गेटबाट प्रतिष्ठानमा प्रवेश गराइने पनि उनले जानकारी दिए ।

प्रतिष्ठानमा भित्र पनि भिड कम गर्न वान वे बनाउने बताए । बिपीको नो पार्किङ भनेर राखिएका स्थानमा सवारी साधन भेटिएमा सुनसरी ट्राफिक कार्यालयका जरिवाना गर्ने तयारी थालिएको उनले बताए ।