विराटनगर  : नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा विराटनगरको पूर्व मेयर अशोक कोइरालाको निधन भएको छ ।

संविधानसभा सदस्य समेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो । नेपाली काँग्रेस मोरङका सचिव नागेश कोइरालाका अनुसार नेता कोइरालामा मुटु रोगको समस्या थियो ।

निमोनिया पनि भएपछि उनलाई न्युरो अस्पताल भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि मङ्गलवार राति न्युरो अस्पतालमा भर्ना गरिएका कोइरालाको बुधवार राति करिब १ बजे मृत्यु भएको हो ।

कोइराला परिवारका सदस्य अशोक नेपाली पूर्व काँग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री स्व। सुशील कोइरालाका सहोदर भाइ हुन् । बुवा बोधप्रसाद कोइराला र आमा कुमोदिनी कोइरालाको पाँचौँ सन्तानका रूपमा उनको विराटनगरमा नै जन्म भएको थियो ।

नेता कोइराला २०४४ सालमा नेपाली काँग्रेस मोरङको सभापति बनेका थिए । लामो समय राजनीतिमा सक्रिय रहेका कोइराला केही वर्षयता स्वास्थ्य समस्याका कारण सक्रिय राजनीतिमा थिएनन् ।

निधनपछि उनको शव विराटनगर महानगरपालिका–८ स्थित निजी निवासमा श्रद्धाञ्जलीका लागि राखिएको छ । कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्न काँग्रेसका नेता कार्यकर्ता, शुभेच्छुक तथा शुभचिन्तक एवं अन्य दलका नेता कार्यकर्ता उनको निवासमा भेला भएका छन् । कोइरालाका श्रीमती, एक छोरा र एक छोरी छन् ।