धरान : सुनसरीमा कोरोना विरुद्धको खोप ५० हजार ९ सय ५९ जनाले लगाएका छन् । 

स्वास्थ्य कार्यालय सुनसरीले दिएको जानकारी अनुसार यो सुनसरी जिल्लामा प्राप्त खोप सङ्ख्याको धारमा ५४ हजार ५० डोज मध्ये ५० हजार ९ सय ५९ डोज खर्च भएको छ । जस अनुसार प्राप्त खोप अनुसार ९४.३ प्रतिशत खोप खर्च भएको छ । 

स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईँका अनुसार पहिलो चरणको खोप अभियान माघ १४–२३ गते सम्म अग्रपंत्तीमा खटेका स्वास्थ्यकर्मी लगायत ५ हजार २८ जना,  दोस्रो चरणको खोप अभियान अन्तर्गत फागुन २–१० गते सम्म ४ हजार ३ सय ११ जना, र  दोस्रो चरणको ५५ वर्ष देखि माथिकाहरुलाई लक्षित गरी फागुन २३ देखि चैत्र ४ गते सम्मको खोप अभियानमा ४१ हजार ६ सय २० जना गरी जम्मा ५० हजार ९ सय ५९ जनाले खोप लगाएका छन् ।  खोप लगाउनेको लक्षित सङ्ख्या भने १ लाख २० हजार ९ सय ३६ रहेको थियो । 

कोरोना विरुद्धको खोप अभियान अन्तर्गत दोस्रो चरणको भर्खरै सम्पन्न भएको अभियानलाई हेर्ने हो भने सबै भन्दा धेरै सुनसरीको पालिकाहरूमा प्रतिशतको आधारमा रामधुनी नगरपालिकामा ६१.७ प्रतिशतले खोप लगाएका छन् भने दुहबी नगरपालिकामा ६१.७ प्रतिशत, इटहरी उपमहानगरपालिकामा ३२.३ प्रतिशत र धरान उपमहानगरपालिकामा ३७.४ प्रतिशतले खोप लगाएका छन् । 

कोरोना विरुद्धको खोप अभियानमा पहिले–पहिले कमैले मात्रै खोप लगाएको भए पनि पछिल्लो समयमा भने खोप लगाउनेको सङ्ख्या उत्साहजनक भएको प्रमुख सागर प्रसाईँले बताए ।