धरान : प्रथम प्रदेश १ स्तरीय बराह ग्रुप महिला पुरुष अन्तर कलेज बास्केटबल प्रतियोगिताको उपाधि डिपो क्याम्पस र महेन्द्र क्याम्पस धरानले जितेका छन् ।

बिहीबार भएको फाइनल खेलमा डिपो क्याम्पसले महिला तर्फको भने महेन्द्र क्याम्पसले पुरुष तर्फको उपाधि जितेका हुन् । 

विजेता महिला टिमले नगद १० हजार उपविजेता टिमले नगद ५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । पुरुष तर्फका विजेता टिमले नगद १५ हजार र उपविजेता टिमले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

Baraha-Basketball-2 2

उनीहरूलाई कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिका प्रमुख तिलक राई, कार्यक्रमका सभाध्यक्ष नेपाल बास्केटबल सङ्घका केन्द्रीय उपाध्यक्ष सुरजकुमार लामा, बराह ग्रुपका पव्लिक रिलेसन अफिसर सुरेन्द्र सिंह विश्वकर्मा, नेपाल ख्रिट्रियन समाजका केन्द्रीय सचिव कुवेर गुरुङ, युवा नेता पूर्ण भुजेल चिन्तन, युवा नेता भुवन याक्खा, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु लगायतले पुरस्कार वितरण गरेका थिए ।

महिला तर्फको फाइनल खेलमा डिपोले विष्णु मेमोरियल स्कुललाई ४२–६ र पुरुष तर्फ महेन्द्रले डिपो क्याम्पसलाई ४३–३७ अङ्कले पराजित गरेको थियो । खेलमा डिपो र विष्णु स्कुलले प्रत्येक क्वाटरमा १०–२,८–०,११–२ र १३–२ र पुरुष तर्फको खेलमा महेन्द्र र डिपोले प्रत्येक क्वाटरमा ८–६,१२–३,१३–८ र ११–२० अङ्क जोडेका थिए । 

महिला तर्फ सेमिफाइनल खेलमा डिपोले सियोन स्कुल, विष्णुले केन्द्रीय प्रविधि क्याम्पस हात्तीसार कलेजलाई पराजित गर्दै फाइनल प्रवेश गरेका हुन् । पुरुष तर्फ सेमिफाइनलमा डिपोले सियोन स्कुल र महेन्द्रले विकेभिएम विराटनगरलाई पराजित गरेका थिए । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी डिपोका कविन मगर र महिला तर्फ लियालिसा श्रेष्ठ घोषित भए । हाइस्कोरर महेन्द्र क्याम्पसका सर्वधन राई र डिपोकी सितल तामाङ, उदयीमान खेलाडी सियोनका साहिल तामाङ र विष्णुकी निभा चेम्जोङ्ग र फाइनल खेलको म्यान अफ द म्याच महेन्द्रका गौरभ ओझा र विष्णुकी लिङवा मावोहाङ घोषित भएका छन् ।

उत्कृष्ट खेलाडी विजेताले जनही नगद दुई हजार रुपैयाँ, हाइस्कोर विजेताले जनही नगद एक हजार ५ सय रुपैयाँ, ट्रफि, प्रमाणपत्र, सप अर्डरका डिस्काउन भौचर, धरान फिटनेस क्लबमा तीन महिना फ्री सर्भिस र डिमाण्डु ज्वाइँ खानाको पाँच सय रुपैयाँ बराबरको फुड भौचर प्राप्त गरेका छन् । प्रतियोगिता अवधिभर हाइस्कोरर सर्वधनले ६३ र सितलले ४४ व्यक्तिगत अङ्क जोड्न सफल भएका थिए । 

धरान बास्केटबल सङ्घको आयोजना, वराह ग्रुपको मुख्य प्रायोजन तथा सुनसरी बास्केटबल सङ्घ र धरान उपमहानगरपालिकाको सहयोगमा सम्पन्न  प्रतियोगितामा प्रदेश १ भरिका १३ पुरुष र ६ महिला टिमले सहभागिता जनाएका थिए । प्रतियोगिताका सम्पूर्ण खेल धरान १२ स्थित मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भएको थियो । 

Baraha-Basketball-1 2

लियालिसा र सन्तोष  थ्री पोइन्ट च्याम्पियन

फाइनल खेल अघि सम्पन्न भएको प्रकाश पौडेल थ्री पोइन्ट कम्पिटिसनका विजेता डिपोकी लियालिसा श्रेष्ठ र धरान मेघाको सन्तोष तामाङ भएका छन् । 

महिला तर्फको कम्पिटिसनमा लियालिसाले ६ थ्री पोइन्ट सट र पुरुष तर्फ सन्तोषले ४ थ्री पोइन्ट सट बास्केट गरेका थिए । विजेताले जनही नगद तिन हजार रुपैयाँ, ट्रफि, प्रमाण पत्र, सप अर्डरका डिस्काउन भौचर र डिमाण्डु ज्वाइँ खानाको ५ सय रुपैयाँ बराबरको कुपन प्राप्त गरेका छन् ।

कम्पिटिसनमा पुरुष तर्फ १३ जना र महिला तर्फ ३ जना खेलाडीहरूले सहभागिता जनाएको थियो । कम्पिटिसन नेपालका चर्चित गायक तथा पूर्व बास्केटबल खेलाडी प्रकाश पौडेलको सहयोगमा सम्पन्न भएको हो ।
तस्बिरहरु :सञ्जय याक्खा