धरान : २१ औँ गोधुली टुबोर्ग रनिङ कप फुटबल प्रतियोगिताको फाइनलमा १९ नम्बर वडालाई टाइब्रेकरमा पराजित गर्दै  १४ नम्बर वडा फाइनल प्रवेश गरेको छ ।

धरान रङ्गशालामा आज सम्पन्न भएको अन्तिम सेमिफाइनल खेलमा वडा नं १९ लाई टाइब्रेकरमा ४-२ ले १४ नम्बर वडा विजयी भएर फाइनलमा प्रवेश गर्न सफल भएको हो । बिहीबारको निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि वडा १४ र १९ ले निर्णायक गोल गर्न नसके पछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

टाइब्रेकरमा वडा नं १४ को लागि पहिलो प्रहार गरेका विवेक राई गोल गर्न चुके पनि सन्दीप राई, मीन श्रेष्ठ, समीर तामाङ र सौगात गुरुङले गोल गर्दै टिमलाई जित दिलाउन सफल भए ।

वडा नं १९ का योगेश राई र सुशन रम्तेलले मात्र गोल गर्न सफल भए । एन्सन राई र प्रमेश गोलेले गोल गर्न चुकेपछि वडा १४ फाइनलमा प्रवेश गर्न सफल भएको हो ।

खेलको म्यान अफ दि म्याच वडा नं १४ का गोलकिपर राजीव खड्का घोषित भए । प्रतियोगिताको फाइनल खेल शनिवार वडा नं १४ र १६ बिच हुने आयोजक गोधुली क्लबले जनाएको छ ।