धरान : सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ मा रहेको गाई फर्ममा आगलागी हुँदा १८ वटा गाई र २ वटा बाच्छा जलेर मरेका छन् ।

आज बिहान २ बजे लागेको आगलागीमा परि एक जना फर्मका कर्मचारी पनि घाइते भएका छन् । मनोज शहाले सप्तरीको अग्निसाइर कृष्णसवरण नगरपालिका-५ को महुली पुल नजिकै सञ्चालन गरेको कृष्णराम बहुउद्देश्यीय कृषि फर्मको गाई गोठमा ६० वटा गाई पालिएको मध्ये गाई र बाच्छा सहित २० वटा जलेर मरेको अवस्थामा फेला परेको स्थानीय दीपेन्द्र आचार्यले जानकारी दिए ।

आगलागी बिहान २ बजे एक्कासि भएको गाई गोठका कर्मचारीले देखेको र गाईको डोरी काट्दा समेत गाईहरू बाहिर नभागेर आगो बलेकै तिर भागेर पसेकाले निकै धेरै क्षति भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र धमलाले जानकारी दिए । आगो बिहानै नियन्त्रणमा आएको र अहिले के-कति क्षति भयो भन्ने बारेमा क्षतिको मूल्याङ्कन गरिने उनले बताए ।

Saptari-cow-dead-1