इटहरी : सुनसरीको इटहरीमा भोलि शनिवारदेखी वडाध्यक्ष अन्तर कलेज भलिबल प्रतियोगिता हुने भएको छ।

इटहरी भलिबल क्लबको आयोजना तथा वार्ड नं ४ को संयोजनमा हुने प्रतियोगिता छात्र र छात्रा दुवै विधामा हुने आयोजक क्लबका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए। छात्र तर्फ सुनसरी जिल्लाभरिका १२ वटा कलेज सहभागी हुनेछन् भने छात्रातर्फ ११ कलेजले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा इटहरी, धरान, दुहबी र रामधुनीका विभिन्न कलेजका विद्यार्थीले प्रतिस्पर्धा गर्नेछन् । इटहरी रङ्गशाला स्थित भलिबल कोर्टमा हुने प्रतियोगितामा विजेता टोलीले नगद १० हजार सहित शिल्ड र उपविजेताले ५ हजार सहित शिल्ड हात पार्ने आयोजकले जनाएको छ ।

भलिबलका अहिलेसम्म हुँदै आएका अधिकांश खेल केबल क्लब स्तरमा र राष्ट्रिय प्रतियोगिताका रूपमा मात्रै हुँदै आएका छन् । कलेज स्तरमा पनि खेलको विकास, खेलाडी उत्पादन तथा प्रतियोगिताको माध्यमबाट खेलाडी उत्पादन गर्ने उदेश्वले प्रतियोगिता गर्न लागिएको बताइएको छ ।