इटहरी : लकडाउनको समयको शुल्क मिनाहाको माग राख्दै १० दिन देखी जारी विद्यार्थी आन्दोलन थप चर्किएको छ ।

बिहीबार र शुक्रवार लगातार बसेको कलेज सञ्चालक तथा इटहरी उपमहानगरपालिकाका मेयर द्बारीकलाल चौधरी सँगको बैठकमा सहमति नभएपछि विद्यार्थीले कलेजमा तालाबन्दी गरेका हुन् । विश्वआदर्श कलेजबाट सुरु गरेर कस्तुरी, कोसी हुँदै सुस्मा कलेजमा समेत तालाबन्दी गरेका छन् ।

लगातारको छलफलबाट शुल्क मिनाहाको बारेमा ठोस निर्णय निस्किन नसकेपछि बिद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेको बिद्यार्थीहरु बताउँछन् । लामो समय बितिसक्दा समेत माग सुनुवाइ नगरेर झुलाउन खोजेको भन्दै तालाबन्दी गरिएको विश्व आदर्श कलेजका विद्यार्थी निमा तामाङले बताए ।

Sudent-Andolan

उनका अनुसार बैठकको क्रममा शुल्क मिनाहा गर्ने विषयमा कलेज सञ्चालकहरू लचक भएनन् । “हामीले माग चाँडो पुरा गर्नुपर्छ भन्यौ । तर वहाँहरूले केही समयपछि निर्णय गर्ने भनेर झुलाउन खोज्नु भयो ।,”उनले भने, “हामीलाई यस अघि पनि बारम्बार झुलाउने काम भएकोले अब निष्कर्ष ननिस्कुन्जेल आन्दोलन जारी राख्छौ ।”

शुक्रवारको छलफलमा मेयर चौधरीले ७ दिनभित्र सहमति गराउने भने पनि विद्यार्थीले अस्वीकार गरेका हुन् । २ घण्टा लामो छलफलबाट निष्कर्ष नआएपछि विद्यार्थी थप आक्रोशित भएका थिए । सहमति नभएसम्म आन्दोलन जारी राख्ने भन्दै उनीहरूले दैनीकजसो आन्दोलन गरी रहेका छन् ।

इटहरी उपमहानगरपालिकाको सभा हलमा भएको बैठकमा बिहीबार भएको निर्णय मात्र कार्यान्वयन गर्न सकिने सञ्चालकहरूले जोड दिए । बिहीबार गाडी नचलेको समयको बस भाडा नलिन सञ्चालकहरू राजी भएका थिए । मासिक शुल्क राष्ट्रिय महत्त्वको विषय भएको भन्दै उनीहरू पछि हटेका हुन् ।

उता बिद्यार्थीहरुले भने माग पुरा नभए थप आन्दोलनका कार्यक्रम ल्याउने चेतावनी दिएका छन् । सोही क्रममा शुक्रवार विश्वआदर्श, सुस्मा, कस्तुरी र कोसी कलेजका विद्यार्थीले इटहरीमा ३ घण्टा चक्काजाम गरे । इटहरी उपमहानगरपालिका घेराउ गर्ने आएका उनीहरूलाई प्रहरीले प्रवेश नदिएपछि उनीहरू राजमार्ग तर्फ लागेका थिए । आक्रोशित बिद्यार्थीहरुले इटहरीको मुख्य चौकमा ३ घण्टासम्म चक्काजाम गरे ।

त्यससपछी वार्तामा गएका बिद्यार्थीहरु सहमति नभएपछि तालाबन्दी गरेका हुन् । ४ वटै कलेजका विद्यार्थीले संयुक्त रुपमा गरेको आन्दोलन इटहरीमा पहिलो निजी कलेज बिरुद्धको आन्दोलन हो ।

नेकपा एमाले सम्बद्ध युवासंघले आन्दोलनरत विद्यार्थीलाई पानी र बिस्कुटको व्यवस्था गरेको थियो । बिस्कुट र चाउचाउको भरमा बिद्यार्थीहरुले दिनभर आन्दोलन चर्काएका थिए ।

आन्दोलनका हाल नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु लगायत सङ्गठनले ऐकबद्धता जनाएका छन् ।

itahari-andalon-2-chaitra-6

Itahari-Andalon-1-chaitra-6

itahari-andalon-3-chaitra-6