विराटनगर : प्रदेश १ को आन्तरिक पर्यटन प्रर्बद्धनकालागि ८ सय किलो मिटरको मोटर र्‍यालीको आयोजना गरिने भएको छ ।

नेपाल युवा उद्यमी मञ्च, विराटनगर च्याप्टरको आयोजनामा यही चैत १२ गते विराटनगरबाट सुरु हुने मोटर र्‍याली चैत १४ गते विराटनगर फर्किने भएको छ ।

विराटनगरबाट सुरु भएर बर्दिबास-घुर्मी हुँदै फाप्लु पुगेर फर्किने कार्यक्रम तय भएको नेपाल युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष सृजन प्याकुरेले बताए । उनका अनुसार एकतर्फी ४ सय किलोमिटरको पर्यटन यात्रा हुने छ ।

‘अन्वेषण पूर्व’ भन्ने नाराका साथ सुरु हुने मोटर र्‍यालीले प्रदेश १ को पर्यटकीय क्षेत्रका बारेमा सरोकारवालासँग छलफल, अन्तरक्रिया गर्ने मोटर र्‍याली आयोजक समितिका संयोजक शुभम् भट्टराईले बताए ।

कोभिड-१९ का कारण प्रभावित भएको पर्यटन क्षेत्रलाई पुर्नजिवित गरी आन्तरिक पर्यटनलाई पुर्ववतरुपमा फर्काउने कार्यक्रमको लक्ष्य रहेको भट्टराईले बताए ।

आन्तरिक पर्यटन प्रवर्द्धन कार्यक्रमलाई कन्ट्रोल लुब्रिकेन्ट्स, माउन्ट भिल्ला, आरसी कोला, जी पावर र ओल्ड मन्कले सहकार्य गरेका छन् ।