धरान : इटहरीका निजी कलेजका विद्यार्थीहरूले लकडाउनको समयको शुल्क मिनाहाको माग राख्दै १० दिन देखी गर्दै आएको विद्यार्थी आन्दोलनमा थप मल जल राजनीतिक दलका जिम्मेवार विद्यार्थी सङ्गठनद्वारा जारी पछिल्ला वक्तव्य र प्रेस नोटहरूले गरेको हिसानले आरोप लगाएको छ ।

शुक्रवार साँझ उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानले एक विज्ञप्ति जारी गरी विद्यार्थीका मागहरूलाई सम्बोधन गर्ने नाममा राजनीतिक दलका जिम्मेवार विद्यार्थी सङ्गठनद्वारा जारी पछिल्ला वक्तव्य र प्रेस नोटहरूले पनि यी घटनालाई मलजल गरेको त होइन ? एक पटक घोत्ल्यौँ भनेको छ ।

शिक्षाको मन्दिरभित्र यस किसिमका गतिविधि बढ्न नदिन स्थानीय सरकार, राजनीतिक दल, विद्यार्थी सङ्गठनहरू, विद्यार्थी, अभिभावक तथा आम इटहरी वासीलाई हामी हार्दिक आव्हान गर्दछौँ विज्ञप्तिमा भनिएको छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानका अध्यक्ष मुकुन्द घिमिरे र सचिव सागर प्रसाद भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा कलेजहरूमा भएको तोडफोड तथा साङ्घातिक आक्रमणमा संलग्न पक्षहरूको खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउन स्थानीय प्रशासन र सुरक्षा निकायलाई समेत अनुरोध गरेको छ ।

विश्व आदर्श कलेजका सुरक्षा गार्ड मोहन कुमार अधिकारी आक्रमणको सिकार भई घाइते अवस्थामा अस्पतालमा भर्ना भएको पनि विज्ञप्तिमा उल्लेख छ । अधिकारीको शीघ्र स्वास्थ्य लाभको कामना पनि विज्ञप्तिमा हिसानले गरेको छ ।

तोडफोड र साङ्घातिक आक्रमण पछिको यो परिस्थितिमा पनि हामी पठन पाठनको निरन्तरता प्रति प्रतिबद्ध छौँ । तर तोडफोड व्यवस्थापन र कलेज सञ्चालनका लागि भौतिक अनुकूल व्यवस्था सिर्जना गर्न तथा यो घटनाले शिक्षक कर्मचारी र विद्यार्थीहरूमा उत्पन्न मनोवैज्ञानिक त्रासबाट मुक्त गर्न अर्को सूचना प्रकाशित नहुन्जेलसम्म इटहरीका सम्पूर्ण कलेजहरू बन्द रहने पनि विज्ञप्ति मार्फत हिसानले जानकारी गरेको छ ।

हिसान नगर सरकारको पहलमा सुरु भएको वार्ता र संवादको सकारात्मक निचोडका लागि पनि प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार र शुक्रवार लगातार बसेको कलेज सञ्चालक तथा इटहरी उपमहानगरपालिकाका मेयर द्बारीकलाल चौधरीसँगको बैठकमा सहमति नभएपछि विद्यार्थीले कलेजमा तालाबन्दी गरेका छन् । विश्व आदर्श कलेजबाट सुरु गरेर कस्तुरी, कोसी हुँदै सुस्मा कलेजमा समेत तालाबन्दी विद्यार्थीले गरेका छन् ।

Hisan-Bigyapti