झापा : हवाई सेवालाई सहज बनाउन अब चन्द्रगढी विमानस्थलमा इन्धन डिपो स्थापना हुने भएको छ ।

डिपो स्थापनाका लागि नेपाल आयल निगम झापा र नागरिक उड्डयन कार्यालय चन्द्रगढीबिच सम्झौता भएको छ । यसअघि विमानस्थलकै एउटा कोठा भाडामा लिएर निगमले अस्थायी रूपमा हवाई इन्धनको सेवा प्रदान गर्दै आएकामा अब डिपोबाट स्थायी सेवा प्रदान गर्ने भएको हो ।

नेपाल आयल निगम कार्यालय चारआलीका प्रमुख मनिष न्यौपानेले डिपो निर्माणका लागि विमानस्थलले छ कट्ठा जग्गा उपलब्ध गराउने सम्झौता भएको बताए । सो जग्गामा पाँच करोड रुपैयाँको लगानीमा यसै आर्थिक वर्षमा ६० हजार लिटर क्षमता भएको डिपो निर्माण गरिने भएको हो ।

पूर्वाधार निर्माणकालागि नेपाल आयल निगम तथा आपूर्ति मन्त्रालयले टेण्डर आह्वानका लागि पहल गर्ने भएको उनले बताए। विमानस्थलमा डिपो निर्माणसँगै छ देखि सात दिनलाई पुग्ने इन्धन भण्डारण गर्न सकिने छ ।

उनका अनुसार यसअघि चन्द्रगढी विमानस्थलकालागि चाहिने इन्धन छिमेकी मुलुक भारतको सिलगुढीबाट खरिद गरी सिधै विराटनगर पुर्‍याइने र गुणस्तर जाँचपछि मात्र चन्द्रगढी विमानस्थलमा ल्याउने गरिएको थियो । ‘स्थायी संरचना नहुँदा विराटनगरबाट ट्याङ्करमा इन्धन ल्याउने र ट्याङ्करबाटै सप्लाई गर्नुपर्ने बाध्यता थियो’, उनले भने, ‘अब त्यो समस्याबाट मुक्त हुन्छ । सिलगुढीबाट खरिद गरिएको इन्धन सिधै चन्द्रगढीको विमानस्थलको डिपोमा फिल्टर सहित भण्डारण गर्न सकिन्छ ।

निगमका प्रमुख न्यौपानेले डिपोका लागि चाहिने ब्राउजरको व्यवस्थासमेत गरिसकिएको बताए । दैनिक चन्द्रगढी विमानस्थलबाट नौ वटा विमानले उडान भरिरहेको छ। जसमा पाँच वटा बुद्ध एयर, दुई वटा यति एयर, एउटा श्री र एउटा सौर्य विमानले भद्रपुरबाट काठमाडौँ उडान भरिरहेको छ ।

डिपो स्थापनासँगै सस्तो मूल्यमा सहज हिसाबले हवाई इन्धन उपलब्ध हुने पर्यटन व्यवसायी तथा अनिमेश ट्राभल्सका सञ्चालक गोपाल खनालले बताए ।

उनले सिलगुढीबाट विराटनगरसम्म पुर्‍याएर इन्धन फिल्टर गरेर ल्याउनुपर्ने झन्झटिलो र महँगो प्रक्रियाको अन्त्य हुने भन्दै खुसी व्यक्त गरे ।