धरान : इटहरीका निजी कलेजका विद्यार्थीहरूले शुल्कको विषयलाई लिएर गर्दै आएको आन्दोलन अराजक हुँदै गएको छ । 

लकडाउनको समयको शुल्क मिनाहाको माग राख्दै भइरहेको आन्दोलनमा कलेजहरूमा समेत तोडफोड, सुरक्षा गार्ड र चालकलाई समेत कुटपिट हुन थाले पछि विद्यार्थीहरूको आन्दोलन अराजक तर्फ उन्मुख हुँदै गएको उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानका सचिव सागर प्रसाद भट्टराईले बताए ।

उनका अनुसार हिजो विद्यार्थीहरूले विश्व आदर्श कलेजको ग्राउन्ड फ्लोरको सिसाहरू तोडफोड गरेका छन् भने विश्व आदर्श कलेजका सुरक्षा गार्ड मोहन कुमार अधिकारी माथि आक्रमण आक्रमण भएको छ । सोही कलेजका चालकको हातमा पनि चोट लागेको छ । 

यस्तै विद्यार्थीहरूले सुस्मा कलेज, कस्तुरी कलेज र कोशी कलेजमा तोडफोड गरेका छन् । विश्व आदर्श कलेजमा अलि बढी क्षति भएको छ । अन्य कलेजहरूमा गेट लगायतमा सामान्य क्षति पुगेको हिसानले जनाएको छ । 

विद्यार्थीहरूले गर्दै आएको आन्दोलनलाई थप मलजल राजनीतिक दलका जिम्मेवार विद्यार्थी सङ्गठनहरूले गर्दै आएको हिसानले हिजै विज्ञप्ति निकालेर आरोप लगाएको छ । विद्यार्थीको नाममा समाजमा उद्दण्डता मच्चाउने र अराजक तत्त्वहरूको घुसपैठका कारण पनि विद्यार्थीको आन्दोलन अराजक तर्फ उन्मुख भएको हिसानले जनाएको छ । 

कलेजहरूमा आक्रमण र तोडफोड नै हुन थालेपछि उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल हिसानले हिजो विज्ञप्ति जारी गरी अर्को सूचना जारी नभइन्जेल कलेज बन्द गरिएको जनाएको छ ।

तर अर्को सूचना जारी गरेर विद्यार्थीहरूलाई पढाउन कलेजहरू तयार रहेको सचिव सागर प्रसाद भट्टराईले बताए । उनले भने, विद्यार्थीको यो आन्दोलनका बारेमा अभिभावकहरूले बुझ्न जरुरी छ ।