धरान : गोधुली क्लबको आयोजनामा धरानमा भएको २१ औँ गोधुली टुबोर्ग फुटबल रनिङ कपको उपाधि १४ नं. वडाले जितेको छ ।

उपाधिसँगै वडा नं. १४ ले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद र ट्रफि समेत जितेको छ । आज भएको फाइनल खेलमा १४ नं. वडाले १६ नं. वडालाई टाइब्रेकरमा ४–३ गोल अन्तरमा पराजित गरेको हो । निर्धारित ९० मिनेटको समयमा दुवै टोली २–२ गोलको बराबरी भएपछि खेलमा १५ मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल नभएपछि खेलमा टाइब्रेकरबाट निर्णय लिइएको थियो ।

टाइब्रेकरमा १४ नं. वडाका विवेक राई, सन्दीप राई, सुशन तामाङ र नाहिर श्रेष्ठले गोल गरे भने मीन श्रेष्ठको प्रहार १६ नं. वडाका गोल किपरले रोकेका थिए । त्यस्तै १६ नं. वडाका अमर श्रेष्ठ, सरोज लकान्द्री र लाकेन लिम्बूले गोल गर्दा क्याप्टेन सबिन राई र खुसीमान लिम्बूले गोल गर्न सकेनन् ।

निर्धारित समयको खेलमा १६ नं. वडाले दुई पटक अग्रता जोगाउन नसक्दा हार बेहोर्नु परेको थियो । १६ नं. वडाका शैलेन्द्र नेपालले फ्रिकिकबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । एक गोलले अघि रहेको १६ नं. वडाका डिफेन्सले डी एरियामा हेण्ड गरेपछि १४ नं. वडाले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमा विवेक राईले गोल गरेर खेललाई बराबरीमा पुर्‍याए ।

१६ नं. वडाका मन्दिप बस्नेतले गोल किपरलाई समेत बिट गर्दै गोल गरेपछि फेरी टोली २–१ को स्थितिमा पुगेको थियो । खेलमा १४ नं. वडाले पाएको त्रिकिकलाई नाहिर श्रेष्ठले गोलमा परिणत गरी खेल बराबरीमा पुर्‍याए । त्यसपछि थप समयसम्म गोल नभएपछि टाइब्रेकरबाट १४ नं. वडाले खेल जित्यो । १४ नं. वडाले यस संस्करणको प्रतियोगिताका सबै खेल टाइब्रेकरबाटै जितेर नयाँ रेकर्ड समेत बनाएको छ ।

दुवै टोलीलाई थप २५ हजार पुरस्कार
२१ औँ संस्करणको गोधुली टुबोर्ग फुटबल रनिङ कपको विजेता तथा उपविजेता दुवै टोलीलाई थप २५ हजार नगद पुरस्कार समेत वितरण गरिएको छ ।

वडा नं. १८ का अध्यक्ष प्रवीण राईले आफ्नो तर्फबाट दुवै टोलीलाई २५/२५ हजार नगद पुरस्कार थप गरिदिएका हुन् । प्रतियोगिताको उपविजेता १६ नं. वडाले नगद ५५ हजार ५ सय ५५ रुपैयाँ नगद र ट्रफि जितेको छ । अघिल्लो संस्करणमा समेत फाइनलमा पुगेर उपाधि जित्न नसकेको १६ नं. वडा यस वर्ष पनि फाइनल जित्न सकेन । पहिलो पटक फाइनलमा पुगेको १४ नं. वडाले उपाधि जित्यो ।

विधागत पुरस्कारतर्फ पनि १४ नं. अगाडी
प्रतियोगिताको उपाधि जितेको १४ नं. वडा विधागत पुरस्कारमा पनि अगाडी भएको छ । 

१६ नं. वडाका विवेक राईले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार जितेका छन् । फाइनल खेलको म्यान अफ द म्याच १४ नं. वडाका नाहिर श्रेष्ठ घोषित भए । उनलाई ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो ।

त्यसै गरी वेस्ट गोल किपर राजीव खड्का, वेस्ट कोच पर्वत राई, वेस्ट डिफेन्स आशिष् पुरी समेत १४ नं. वडाकै खेलाडी हुन् । उनीहरूलाई नगद ५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको  वेस्ट स्ट्राइकर १६ नं. वडाका मन्दिप बस्नेत, वेस्ट मिडफिल्ड १६ नं. वडाका लाकेन लिम्बू, राईजिङ प्लेयर १७ नं. वडाका सुशान्त विक घोषित भए ।

उनीहरूलाई नगद ५ हजार ५ सय पुरस्कार प्रदान गरिएको थियो । त्यस्तै गरी प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने वडा नं. ८ का प्रजिन राईलाई ७ हजार ५ सय नगद पुरस्कार प्रदान गरिएको थियो । उनले प्रतियोगितामा ५ गोल गरेका थिए । वडा नं. १६ का मन्दिप बस्नेतले पनि ५ गोल गरेका थिए तर बस्नेतले बढी खेल खेलेर ५ गोल गरेका थिए । प्रतियोगिताको फेयर प्ले अवार्ड २० नं. वडाले जितेको छ ।